जीवन एक झूट हो
तर मृत्यु भने सत्य
जुन न रोकेर रोकिन्छ
न त कसैले छेकेर छेकिन्छ
मृत्युपछि न त कसैको
एक शेष अवशेष बाँकी रहन्छ
न त कसैको छुटेका सपना बाँकी रहन्छ

समयको वेगले
आमाको स्नेहले
बुवाको साहसले
दाजुभाइको साथले
दिदीबहिनीको मायाले
मानिसलाई जिउन सिकाउँछ
तर त्यो जिएको जीवन पूरै झूट रहन्छ
किनकि हामी सत्यदेखि डराउँछौँ
सत्य मृत्यु हो तर
हामी मृत्युदेखि डराएर भाग्छौँ
अनि एकदिन
समयले नमज्जाले पछार्छ र
उठ्न नसक्ने गरी घाइते बनाउँछ
तर पनि जित सत्यको रहन्छ
न त जीवन रहन्छ न त सास नै !

एकदिन सबैको मृत्यु हुन्छ
त्यो दिन दुई घना बाँसको खटमा
लमतन्न परेको लाशलाई थेचारिन्छ
र दुईतिरबाट चोयाले कसिन्छ,
कात्रो ओढाइन्छ अनि घाटमा
राम राम सत्य हो भन्दै पुर्‍याइन्छ
आखिर सत्य यही नै हो
सत्यको नै जीत हुन्छ
यो जीवन त एक
झूटै झूट र आश्वासनको भेल हो
न यो साचेर भोलिको लागि सञ्चित गर्न सकिन्छ
न त मरेर भोलि फेरि बाँच्न सकिन्छ !

काठमाडौँ