ल ठीकै छ, तिम्ले जित्यौ
मैले हारेँ
हारेँ पनि के भन्नु, सबै चिज गुमाएँ
हार्दा, म हार्छु
जित्दा, मबाहेक, तिमीले दुनियाँ जित्यौ

मैले गुमाएको तिमी हो
विश्वास हो, भरोसा हो
प्रेमको बाजी त मैले शुरुमै हारिसकेको थिएँ

सक्कियो एक सपना, सक्कियो एक सुनौलो बिहानी
अब, मलाई सक्किनुमा कुनै गुनासो छैन
म सक्किनमा
तिमीबाहेक, अब मसँग बाँकी केही रहेन

तिम्रा वाचाहरूको भारी
म एक्लै बोकेर के गरूँ, न बस्ने ठाउँ छ
न बिसाउने चौतारी नै !
हाम्रा सपनाको सिरानी तिमी लाउनु
हाम्रा वाचाको काँध म थाप्ने छु
तिमी जे भए पनि खुशी हुनु
खुशीको नाटक म गर्नेछु

कल्पनामै सही !
हिजो एक साथ प्रेम भयो
थोरै भए पनि सँगै हिड्यौँ
अञ्जान थियौँ, अञ्जान भयौँ
बस् ठीक छ
अब गुनासो, कसैसँग छैन
तिम्रो बाध्यतासँग तिमी खुसी हुनु
मेरो परिस्थितिसँग म रमाउने छु ।