जीवन-अस्तित्वको संवाहक
पदार्थको रुपरङ्ग र आकारको दर्पण
जीव र वनस्पतिको आधार
सिङ्गो सौर्यमण्डललाई एउटै मालामा उनेर राख्ने नायक आदित्य
करौडौँ कोस टाढा छ जीवमण्डलदेखि
तर पनि कति घनिष्ट छ सम्बन्ध परस्परको
यो देख्दादेख्दै
कसरी भन्न सकिन्छ र
टाढाको सम्बन्ध बलियो हुँदैन भनेर ?
लाखौं कोश टाढा आकाशमा रूप बदलिरहने
सूर्यज्योतिको आडमा ज्योतिर्मय
निष्पट अन्धकारको वैरी
धराको गुरूत्वबलसँग पौँठेजोरी खेल्दै
लमतन्न परेर सुतिरहेको विराट जल-कायालाई
तरङ्गित बनाइ
मच्चाइमच्चाइ उफारेर
जलपरीको नृत्यझैँ कम्मर मर्काइरहेका ज्वारहरू
सेतु बनेका छन्
चन्द्रमा र समुद्रको कसिलो बन्धनको
यो अन्तर्य बुझ्दाबुझ्दै
कसरी भन्न सकिन्छ र
दूरदराजको साइनो प्रगाढ हुँदैन भनेर ?
हिउँ ओढेर हिउँ नै बिछ्याइरहेका हिमगिरि र हिमकुण्डहरू
सौर्य-तेजको मायावी न्यानोपनमा रमाएर
आफैँ पग्लिएको होसै नपाई
नदीको बहाव बनेर
पहाडपर्वत, चट्टान, खोँच र फाँटहरू छिचोल्दै
बग्दैबग्दै आफ्नो गतिमा
भौँतारिँदै अन्तिम गन्तव्यको खोजीमा
सम्हालिँदै अथकित यात्रामा
भेट्छ अन्त्यमा गन्तव्य
र विलिन हुन्छ सागरमा
हेरे पुग्छ नदीलाई
जो सेतु हो हिमाल र सागरको
सम्बन्ध नजिक कि टाढाको ?
म सुदूरको सूर्योदय र सूर्यास्त हेर्न लालयित छु
तानिरहेका छन् मलाई नीलगगनका तारापुञ्जहरूले
हल्लाइरहेका छन् पृथ्वीको अदृष्य गर्भबाट जन्मिएका तरंगहरूले
तर्साइरहेका छन् आकाशीय मेघका गर्जनहरूले
जोडिरहेका छन् उत्तर-दक्षिण ध्रुवका हिमपिण्डहरूले
र सगरमाथा एवं अन्य हिमाच्छादित् शिखरहरूले
राख्छन् जीवन्त साइनो भीमकाय समुद्रसँग
दक्षिण-अमेरिकी अमेजन वनजङ्गलहरूले
बिछ्याइरहका छन् मायावी जाल समुद्रका ज्वारभाटाहरूले
बनाइरहेका छन् मन्त्रमुग्ध अष्ट्रेलियाको कङ्गारू-बथानहरूले
तानिरहेका छन् आँखा ध्रुवीय पेन्गुइन र साइबेरियन पर्यटक-पंक्षीहरूले
संकटमा नपरोस् अस्तित्व यस साझा ग्रहमा भनिरहेका छन्
नेपाली डाँफे, कस्तुरी, घडियाल, गैँडा, बाघ जस्ता जनावरहरूले
इतिहासले पाना पल्टाउँछ जीव विकास र विनाशको सुदूर अतितको
बढाइरहेको छ अनिश्चय भविष्यको अदूरदर्शी महत्त्वाकाङ्क्षाले
जेलिएका छन् सम्बन्धहरू दूर आकाशका कृत्रिम उपग्रहहरूसँग
चलाइरहेको छ संसार ग्रिनविचको समयरेखाले
नचाइरहेका छन् हामीलाई माइक्रोसफ्ट र फेसबुकका संकेतहरूले
पारिरहेका छन् हरपल मदहोस् गुगल र एप्पलका जादूगरी एपहरूले
गाँसिरहेको छ चुनौतीपूर्ण सम्बन्ध मानव-निर्मित कृत्रिम बौद्धिकताले
कसरी परिभाषित हुन्छ सम्बन्ध नजिक र टाढाको ?
कसले भन्छ सम्बन्ध गाढा हुँदैन टाढाको ?
हुँदो रैछ सम्बन्ध प्रगाढ, दूर देखिए पनि
हुँदो रैछ सम्बन्ध जेलिएको, अदृश्य भए पनि
हुँदो रैछ सम्बन्ध अर्थपूर्ण, अबोध्य देखिए पनि
जोडिँदो रैछ सम्बन्ध प्रत्यक्ष-परोक्ष, अप्राप्यझैँ लागे पनि
जसरी जोड्दछन् दुई ध्रुव र भूमध्यरेखालाई अक्षांश र देशान्तरले
त्यसरी नै जोड्छ भूत र भविष्यलाई वर्तमानले
आखिर बच्चा र वृद्ध भन्नु पनि त समयका दुई ध्रुव हुन्
आखिर जन्म र मृत्यु भन्नु पनि त जीवनका सिमाना हुन्
समय या उमेर भन्नु त दूरी मात्र हो
नभमण्डल टाढा छ भूमण्डलदेखि
भूमण्डलदेखि भूमण्डल पनि त कहाँ नजिक छ र सबै ?
कहिले नजिक टाढाजस्तो
कहिले टाढा नजिकजस्तो
जहाँ बलियो छ सम्बन्धको सञ्जाल
जति कसिलो छ जीवनको अस्तित्व
त्यति गहिरो हुन्छ सम्बन्धको गाढापन
र निर्भर हुन्छ नाता नजिक या टाढाको ।
हालः भैरहवा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।