
कविताः कामिनी
म अलच्छिनी कामिनी
मेरो भुँडी कस्को हो ?
म आफैँलाई सोध्छु
म यो समाजलाई सोध्छु
म नाजवाफ बनी भित्रभित्रै मरिरहेछु
तर पनि, म निर्धक्क बाँचिरहेछु, हाँसिरहेछु
मेरो मुस्कानमा बेग्लै भाव छ
मेरो यो हाँसोमा बेग्लै कथा छ
कठै ! मेरा बा
बर्मामा सबै परिवार गुमाएका मेरा बा
मुखियाको आदेशमा
असला माछा मार्न जाँदा
घुमाउने दहमा परेर बितेका रे
मलाई त एकरत्ति झल्को छैन
होस् पनि कसरी मेरी सुत्केरी आमा
आगो पानी छुन नपाउँदै विधवा भाकी रे
तेरा बाउ खाइलाग्दा छाँटका थिए -आमाले भन्दा
तेरा बाउ आँखामा राख्दा पनि नबिझाउने थिए -बिष्ट, बिष्टिनीले भन्दा
कालले पनि यस्तैलाई रोज्नु पर्दो रहेछ
म जन्मिदै टुहुरी भएछु
कठै ! मेरी आमा
नौ डाँडा पारिबाट ल्याएकी मेरी आमा
मेरो भन्नु नै तँ मात्र होस्
कहिलेकाहीँ म सानोमा भोकले झगडा गर्दा मेरी आमा सुनाउँथिन्
कतिले त अलच्छिनी बाउ टोकुवा
सात दोबाटोमा जिउँदै गाड्नुपर्छ भने रे मलाई
बल्ल भरिएको कोख, बल्ल भरिएको अँगालो
रित्याउन कुन आमाको मनले मान्छ र
पक्कै पीडाले आँशुमा डुबी होलिन् मेरी आमा
भोकै र तिर्खै बनेर हुर्काएकी
म अलच्छिनी कामिनी यो अवस्थामा
आमाका अगाडि कसरी मुख देखाउन सक्थे होला र ?
मेरी आमाले मेरो मुख कसरी हेर्न सक्थिन् होला र ?
कति दूरदृष्टि दैव पनि यी पीडाबाट त मुक्ति दिएछौ
धन्य छ तिमीलाई
पुस‑माघको कठ्याङ्ग्रिदो जाडोमा
एकसरो झुत्रे फरियामा टालेको बर्को बेरेर
मुखेनी बज्यैकामै घोटिने
साउने झरीमा निथ्रुक्क भिज्दै गोरुझैं जोतिने मेरी आमा
काम्ने ज्वरोको शिकार भइन् आँखैअघि
गरीव हुनुको पीडा मुखमा न एक बिर्को ओखती नै पर्यो
बूढो गोरुले सकी-नसकी हलो तानेझैं जोतिई रहन्थिन्
मुखेनी बज्यै
मुखेनी बज्यै, बरु उल्टै गाली भन्दा
के दियौ मेरी आमालाई
म झुल्किदै अस्ताएका मेरा बा
म हुर्काउन लिएको मकैको च्याँख्ला
र गुन्द्रुकको ऋण तिरी नसक्दै निदाएकी मेरी आमा
कहिलै ब्युँझिनन् ऋणको भारी मेरो टाउकोमा बिसाएर
म अलच्छिनी कामिनी
त्यति नै खेर सात दोबाटोमा गाडिएकी भए हुने थियो
म अबोध टुहुरी म अलच्छिनी कामिनी
मुखियाको कुकुर बस्ने पालीमा
थोत्रे गुन्द्री बिछ्याएर सनपाटको बोरा ओडेर
सयौँ रात काटेकी छु
पुस-माघको जाडोमा
त्यही लक्की कुकुरसँग गुँडुल्की मारी
न्यानो आभाष पाएकी छु
लक्की कुकुर भएर पनि साँच्चै लक्की नै हो
लक्की मासुको चोक्टा चोक्टा पाउँथ्यो
म मासुको झोल झोल पाउँथे
लक्की उकुस मुकुस खान पाउथ्यो
म आधा पेट खान पाउँथेँ
धेरै पटक आँखा छलेर लक्कीको भाग
मेरो भागमा खन्याएकी छु र पेटभरि अघाएकी छु
लक्की मेरो अन्नदाता हो, लक्की मेरो प्राण हो
म जब हुर्कंदै गए
सानो मुखियाले पालीमा फरिको बारिदिए मेरा लागि
बल्ल मेरो घर भन्न पाएँ
म खुसीले नाचेँ, उफ्रेँ, रमाएँ, बुर्कुसी मारेँ
तर त्यो फरिको भित्रको मेरो घरको कटुता कसलाई के थाहा
अहिले त्यै मेरो घर, खुसीको बुर्कुसी परिणत छ यो अवस्थामा
मैया मैसाब
मैया मैसाब प्रमाण त के जुटाउन सक्छु र
म अलच्छिनी कामिनीले
सखुवाको पत्कर सोहोर्दा सोहोर्दै
त्यो घोप्टे ओडारको भित्तामा
चिलले चल्लालाई झम्टिएजस्तै
एक्कासि सानो मुखिया ममाथि झम्टिएपछि
पीडा सम्हाल्न नसकी निस्किएको
मेरो चिच्याहट सुनेको नसुनै
मेरो विवशता देखेको नदेखै गर्ने तिमी पनि त हौ
तिमी नारी होइनौ ? एकपल्ट सम्झ
तिम्रो पहिलो कुमारीत्व गुम्दाको पीडालाई
त्यसमाथि झनै मेरो बाल कुमारीत्व तोडिदाको पीडा
कति थियो होला कल्पना गर्न सक्छौ ?
मुखेनी बज्यै मुर्छाबाट तंग्रिएर आएकी म
रातभर रगत नथामी हनहनी ज्वरो बढेको बखत
भोलिपल्ट बिहानै भकारो सोर्न नसक्दाको
तथानाम गाली कहाँ बिर्सन्छु
र पनि मेरो पीडा कहिन
म काममा सकी-नसकी मुन्टिरहेँ
महिनौँ रक्तश्रावमा डुबिरहेँ
मेरो कमजोरी भनौँ या डर
मेरो बाध्यता भनौँ या कर
मेरो विवशता कसैलाई सुनाइन
कति दिन केही खानै सकिनँ
लत्र्याङ लत्र्याङ लर्बराइरहँदा
एकपटक पनि सोध्यौ बज्यै तँलाई के भएको छ भनेर ?
ए सानो मुखिया
ए सानो मुखिया बिन्ति कहाँ बिसाउँ
मेरा सगरमाथाझैं पोटिला वक्षस्थल
फत्त्रक गलेर सुतेको कुम्भकर्णझैँ बनायौ
मेरो फक्रक्क फुल्न लागेको, कोपिला निमोठिदियौ
यौवनी गुलाब सम्झी कयौँ पटक चुम्यौ गिद्दको झम्ट्याई गरेर
त्यो बेला म अछुत भन्ने लागेन ?
जुनबेला तिमी ममाथि एकोहोरो अतृप्त प्यास मेटाउँथ्यौ
मेरा ओठमाथि ओठ चुम्थ्यौ
मेरो जिब्रो माथि जिब्रोले लपेट्थ्यौ
मेरा अंगअंग चुम्थ्यौ
त्यति बेला म अछूत भइनँ,म जुठी थिइनँ
म सुन्दर अप्सरा थिएँ
तिम्रालागि संसारकै सबैभन्दा मूल्यवान् थिएँ
दिनरात काममा गोरुझैँ जोतिन्थेँ म
मेरा हरेक पीडामा हर्षोलास मनाउँदै मलाई भोगी रह्यौ
थाकेको गलेको भन्न नपाई उपभोग गरिरह्यौ
जब तिम्रो भ्रूण मेरो पेटमा बढ्न थाल्यो
म बिन्ति बिसाउन सोचिरहेथेँ अनायासै टोलाएछु
बाघझैँ गर्जियौ तिमी
मेरो घाँटी अँठ्याउन थाल्यौ मेरो समाप्तिको लागि
म पञ्जाबाट फुत्किन कयौँ प्रयासहरू गरिरहेँ
घाँटी अँठ्याइरह्यौ तिमीले
मेरो श्वास अवरुद्ध हुन लाग्दा
म झस्किएँ, कम्पन छुटिरहेको थियो
श्वास प्रश्वास बढिरहेको थियो
पसिनै पसिनामा डुबेकी पाएँ
त्यो दिन पनि तिमीले छोडेनौ मलाई
तर केही बिसाउन सकिनँ
म अलच्छिनी कामिनी मुर्दाझैं विवश सहिरहेँ खपिरहेँ
मलाई थाहा थियो, तिम्रै रवाफ चल्छ
तिम्रै शासन चल्छ
म नै पतकर पातकी हुन्छु
धेरै पल्ट आत्महत्या गर्न खोजेँ
तर सकिनँ आमा हुँदैछु
माया त्यो पेटभित्रको अदृश्य भ्रूणको लाग्यो
मुखेनी बज्यै
मुखेनी बज्यै तिमी पनि त आमा नै हौ
मेरो विवशता बुझ्ने छौ पक्कै
साहस बटुलेर तिमीसँग धेरै कोशिशपश्चात
आँशुका धारासँग मुटु भक्कानिएर
गला अवरुद्ध पार्दै बिन्ति बिसाएँ- मभित्र सानो मुखिया हुर्किंदैछ
रातारात समाज राख्यौ, रातारात सभा बस्यौ
म पातकी बौलाही भन्यौ, ठहर्यायौ
सुनपानीले चोख्यायौ तिम्रो घर र तिम्रा मान्छेहरू
कस्को नासो बिसाउन लागि भन्यौ
सुन्ने कानहरूलाई पनि सुनपानीले चोख्याइ पवित्र पार्यौ
सुनपानीले पवित्र हुने भए
म अलच्छिनी कामिनी जवाफ चाहन्छु
मलाई किन सुनपानी छर्किएनौ ?
त्यो तिमीले लगाएको सुनको बुलाकी र कानढुंग्री पनि
मजस्तै अछूतले बनाएको होइन र ?
मै अलच्छिनी भएँ, मै रन्डी-छाडा भएँ
मै जुठी भए, मै बिटुली भएँ, म नै पातकी बैलाही भएँ
समाजकी कलंक भएँ, समाजबाट तिरस्कृत अपहेलित र बहिष्कृत भएँ
म अछूत त छँदैथिएँ दलान टेक्न नपाउने
म अलच्छिनी त छँदैथिएँ सिधा नजर हेर्न नपाउने
देउरालीको कसम खाएर भन्छु
वरपीपल चौतारीको कसम खाएर भन्छु
तिम्रै आँगनी शिरको मठको कसम खाएर भन्छु
तिमीले पूजाअर्चना गर्ने चौठामाथि खोपीका
तिम्रै भगवानको कसम खाएर भन्छु
मुखेनी बज्यै रिसानी माफ होस्
मुखिया बाकै करकापमा
तिमी माइत गएको बेला
मझेरी छेउको तिमी सुत्ने खाट बाकसमाथि
एक रात
मुखिया बालाई पनि सम्हालेकी छु ।
पोर्चुगल



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

