शहरको मध्य भाग
अग्ला दिवालहरूको संरचना
काँडेतारको बलियो फेरी
नवप्रवर्तित प्रविधिजडित
प्रवेशद्वारमा सयौँ पालेपहरा
वातानुकूलीत बाल्कोनी काखी च्यापेर
ठिङ्ग उभिएको छ नाट्यशाला !
अहो !
टिकट काट्न नपर्ने
झुत्रेझाम्रे पस्न नसक्ने नाट्यशालाभित्र
चिल्ला गाला, सुकिला लुगा
महङ्गा कोटहरू
दर्ज्यानी चिह्न र फुलीको सोल्युट
नगरी फिर्तासम्म
निर्बाध पसिरहन्छन्
निगुराहरू सधैँ निहुरिरहन्छन्
परन्तु निमोठिन्छ तिनकै मुन्टा
धनुषहरू सधैँ ढोगिरहन्छन्
परन्तु हुँदैन ढाड सिधा युगौँयुगसम्म !
आधुनिकताको आँगनमा
परायाको दानबाट ठिङ्ग उभिएको
बडो गज्जबको नाट्यशालाका राजगद्दी समान आसनमा
विराजमान हुन्छन् कलाका जादुगरीहरू!
बाल्कोनीबाट जब मञ्चनको समय सूचित हुन्छ
तब भूमिकामा भर्भराउँछन् कलाका जादुगरी
देखिन थाल्छन्, एकाएक नाट्यशालामा हिन्दु पुराणका सबै पात्र
जस्तोः सप्तऋर्षि –सनक
कौरव– कनकमुनि
पाण्डव– पर्शुराम
रुद्र– रवि
नारदमुनि– नारायण
दुर्वासा– दिगम्बर
दुर्गा –दुष्शासन
काली–काल भैरव
दधिचि– दुर्योधन
रावण–राम
बलभद्र –बली!
यहाँ फितलो हुन्छ
आफ्नो कथा र व्यथा
मिथक मोलेर
सत्यलाई सुताएर
नियमलाई निचोरेर
विधिलाई बिर्सिएर
वाचालाई बहिष्कारेर
कोही अभिनय गर्छन् –घिमिरेको
कोही देवकोटाको
कोही भूपिको
कोही बीपीको
कोही मुनाको
कोही मदनको
कोही पुष्पलालको
कोही कार्ल मार्क्सको !
चाहे होस्
वर्षाको बाढी
हिउँदको खडेरी
चैतको आगलागी
जेठको भोकमरी
विपत् र महामारीको घडी
अम्बर गुरुङ
नातिकाजी श्रेष्ठ
प्रकाश गुरुङ
नारायण गोपाल
पण्डित रविशङ्कर
हरिप्रसाद चौरासियालाई खुवाएर हावा
अर्पण गराउँदै लज्जाको पगरी
म कै मादल
डम्फु
शङ्ख
घण्ट
बाँसुरी
सुर, तान, ताल, अनुतानका अनभिज्ञ दर्शक
बनेर मन्त्रमुग्ध
ताली पिटिरहन्छन्
नाचिरहन्छन् बेतालमा !
आमा भन्नुहुन्छ– बाबु
पुराना नामी नाट्यशाला कसले खायो बेचेर ?
म भन्छु – आमा नाट्यशाला बेचिएका छैनन्
बरु थुप्रिएका छन् थुप्रै नाटकार
संसद् भवनरुपी नयाँ नाट्यशालातिर ।
सत्यवती–१,रामबारी,गुल्मी
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला