के हो प्रेम अझै कतातिर गयो, देखिन्न खै के भयो
छल्की छाल कतै बगेछ कहिले, सौभाग्य त्यो के रह्यो
थोरै मात्र कतै कुनै बगरमा, जीवन्त माटो रहे
लाखौं कोश म दूर हिँड्छु जहिले, क्यै छैन बाटो भए

अन्धो प्रेम सदा रुवाउँछ बढी, सुन्दैन क्यै आरति
वाचा व्यर्थ हुँदै यताउति रुँदै, भागे सबै सन्तति
छैनन् साथ अचेल त्यो सहरमा, बस्छन् समस्याहरू
खेल्छन् प्रेम अनेक जाल छलका, छैनन् तपस्याहरू

आधा वैंश विशेष ऐस नगरी, जोगिन्छ होला कति
साँचो प्रेम लुकाऊ है अधरमा, हुन्छन् भने प्रगति
त्यो तिम्रो दिलबीच वा पर कतै, प्रेमी बसेको छ क्वै
साक्षी यो दिल बोल्छ त्यो वदनमा, प्रेमी फसेको छ क्वै

मान्छेको दिलभित्र बस्छ जब त्यो, निस्कन्न है बाहिर
धोका दिन्छ अवश्य पूर्ण अरुको, विश्वासले आखिर
आफैँसँग झसङ्ग हुन्छु कहिले, विश्वासको घातले
के लिन्छन् बदला हरेक दिनले, निर्वस्त्र भै रातले

भागौँ दूर भविष्य छैन घरको, संसार आधा बन्यो
टेकी आँगनमा हिँडूँ पर कतै, वैराग्य बाधा बन्यो
त्यागी कामुकता बसी नियमले, उठ्ने भए के छ र ?
बोकी प्रेम भनौँ बनौँ भुवनमा, संस्कारले सुन्दर ।

**********

सिगास-२, बैतडी