छोडिएका पदचापको सम्झनामा
छोड्न बाँकी पदचापहरूको
किन चढाउँछौ बलि ?
यो मोडबाट फर्कनु विकल्प होइन
यही भीरबाट कतै हुत्याइदेऊ
निराशा र वितृष्णा
यो यात्रा हो अठोटहरूको
हाम्रालागि
काट्नु पर्ने हरेक भीर
तर्नुपर्ने हरेक जङ्घार
हरेक चट्टान र थुम्काहरूमा
बाँच्नुपर्ने छ आस्था यात्राप्रति
अठोट गन्तव्यप्रति

हो,
झरीहरू आउने छन्
झरी अन्त्य होइन यात्राको
अन्त्य होइन
कुनै हावा हुरी वा हुण्डरी
कुनै गाउँ, शहर वा मठमा
पुग्नु छैन हामीलाई
फर्कनु छैन बोकेर
केही थान कोसेली

अब कहिल्यै नफकिर्ने गरी
पुग्नु छ त्यो मुकाम जहाँ
हरेक यात्रीले टेकेको भूमि
बोकेको आकाश
र फेरेको श्वासमा
बस, जीवनको बास्ना आओस्

उठ यात्री !
अझै हामीलाई
हिँड्नु छ एक भूगोल
काट्नु छ एक युग
र मुकाममा उभिएर गर्नुछ
जीवनवादी घोषणा ।