शेखर गिरी

नेपाली गद्य कविताका प्रखर कवि हुन् – शेखर गिरी ।
सादगीपूर्ण जीवनशैली / सौम्य / सरल स्वभाव / शान्त अनि शालीन व्यक्तित्वका गिरि साहित्यका गम्भीर साधक र कविताका निष्ठावान् उपासक हुन् ।

इमानदारिता नैतिकता र काव्यिक निष्ठा उनलाई चिनाउने चम्किला आभूषण हुन् ।
साहित्यमा निष्काम कर्म गरिरहेका यी साधकको निष्णात व्यक्तित्व सबैका लागि प्रेरणादायी लाग्छ ।

नेपाली कविताका साथै कथामा पनि उनको विशिष्ट योगदान रहेको देखिन्छ ।

गिरिका कवितामा अनेकौं उल्झनहरू बिम्बित हुन्छन् । मानवीय जीवनका अध्यारो-उज्यालो / दु:ख-सुख / प्राप्ति-अप्राप्ति / आशा-निराशा / वैयक्तिक-निर्वैयक्तिक लगायत अनेकौं विषयहरू उनका कविताका प्रविष्ट छन् ।

शेखरका कवितामा वैचारिक द्रोह छ / आत्मीय प्रेम छ / उज्यालोको अतीव चाहाना छ । नेपाली राजनीति, सामाजिक विसङ्गति, उपेक्षित, अवहेलित र सहअस्तित्वको प्रखर आवाज कवितामा अनुगुञ्जित छन् । समग्रमा उनका कवितामा भुइँ-मानिसहरूको सपना र युगीन चेतना सघन रूपमा आएको देखिन्छ ।

वि.सं. २००८ साल वैशाख १८ गते जनकपुरधाम धनुषामा माता / पिता पुन्यप्रभा गिरी, मित्रलाल गिरीको कोखमा शेखर गिरीको जन्म भएको हो ।
नेपाल प्रज्ञा-प्रतिष्ठानमा प्राज्ञ-सभासद् रहनुका साथै लामो समयदेखि पत्रकारिता / साहित्य र राजनीतिमा संलग्न देखिन्छन् ।

प्रस्तुत छ – वि.सं. २०४० साल साउन महिनाको रूप-रेखामा प्रकाशित निक्कै शक्तिशाली ‘पर्खाल’ कविता ।

पर्खाल

– शेखर गिरि

तल-तल धरातलभन्दा पनि तल – भासिंदै छन्
विचारका सुदृढ जग – शृङ्खलाहरू
तुहिंदै छन् विश्वासका भव्य महल र अट्टालिका
खण्डहर र भग्नावशेषहरूमा
कसले जादुको छडी फेरि घुमायो
आइसकेको प्रकाश कता हरायो ?

एकपटक हामी कसरी जुटेका थियौं
सारा जोरी-पारीहरूलाई दङ्गदास पार्दै
हामी कसरी मिलेका थियौं
सारा मतभेदका कुम्लोलाई केही समयका लागि भए पनि थान्को लगाउँदै
थर्काएर सारा दिग-दिगन्त
फुकेका थियौं विजय शङ्ख
तर…तर… हाम्रो अश्वमेघको घोडा कसले समात्यो
आइसकेको प्रकाश फेरि कता हरायो ?

हिजोसम्मको हाम्रो एउटै बाटाे
अब अनन्त हुने भयो
हामी माझ यो अविश्वासको पर्खाल कसले ठडायाे ?
भूगोल त यहाँको के नै पो छ र ?
शकुनीको पासा नै पो अब इतिहास बन्ने भयो ।

– रूप-रेखा
वि.सं. २०४० वर्ष २४ अङ्क ३ साउन