एकातिर ऊ आफ्नै आमाले
नौ नौ महिना गर्भमा राखेर
अनेकौँ प्रशव पीडा सहदै
जन्म दिएको
आफू खाई नखाई उस्लाई खुवाएको
दशधारा दूध चुसाएको
ताते ताते गर्दै हिँड्न सिकाएको
आमा, मामा, बाबा भन्दै बोल्न सिकाएको
सब बिर्सन्छ र अंशमा
सम्पत्तिको मात्रै भागवण्डा खोज्छ
उस्लाई मन परेको खेत, वारि
खटीया, भाडा उस्कै भागमा पार्न लाउँछ
किनकि ऊ छोरो हो रे, छोरो !
अनि अंश माग्ने उस्को जन्मसिद्ध अधिकार !

अर्कातिर ऊ बुवाले उस्लाई
हुर्काउन गरेका दुःखहरू
उस्लाई पढाउन लिएको साहुको ऋण, ऋणको ब्याज
उस्लाई ठूलो बनाउने क्रममा मारेका आफ्ना सपनाहरू अनि
बाबुले बाबू भएर लिएका जिम्मेवारीहरू
सबैलाई लात मार्छ र भन्छ
“बुवा तिम्रो लगौँटीको पनि अंश गर्नुपर्छ”
र समाज बोलाउँछ रोजे बमोजिमकै अंश पाउन
आँखा र कान नभएको ऊ जन्मेको समाज
बिल्कुल ऊजस्तै बन्दै उस्कै पक्षमा उत्रन्छ र
भन्छ, “छोरा खुसी राख्न, सबै सामान र जग्गा बराबर बाँड्नै पर्छ”
समाजकै निर्णयअनुसार उब्जाउ हुने खेती
राम्रा, दह खाटहरू
नयाँ नयाँ भाडाहरू
छोरा बुहारीकै भागमा पर्छन्
अंशमा पाएको भाग लिएर छोरो
बुहारीसँग लठ्ठारिँदै
बाक्लो बिछ्यौनामा ढल्कन्छ

बुवा, आमा गाईलाई कुँडो पकाउने
भाडामा अंशमा बचेको घुन लागेका मकैको चामल
उसिनेर खाई खुसीसाथ भत्किएको गाईगोठमै
परालको बिछ्यौनामा राडी ओडेर सुत्छन्

बुबाआमालाई थाहा छ कि यो कलियुग हो,
यहाँ बाबुआमाले खाई नखाई, पौरखले कमाएको
सम्पत्ति छोरा बुहारीलाई दिएर
छोरा बुहारीलाई आत्मनिर्भर बनाउनु पर्छ
अनि आफू परनिर्भर हुनुपर्छ
सोही अनुरुप
उनीहरू विस्तारै वृध्दाश्रमतिर लाग्छन्
छोरा बुहारीकै खुसीका लागि

न छोरा बुहारी आमा बुवालाई भेट्न
जान्छन् वृद्धाश्रमतिर
न एक कल फोन नै गर्छन्
बरु व्यस्त बन्छन् जवानी पोख्न
कामवासनाको बगैंचामा

जब सुन्छन्, बुवाआमाले अन्तिम सास फेरेको
तब भ्याई, नभ्याई छोराबुहारी
हाल्छन् बुवाआमा
ससुरा, सासूको फोटो
फेसबुकमा र लेख्छन्
मिस यु बुवा-ससुराबुवा
आमा-सासूआमा
किनकि उनीहरू छोरा बुहारी हुन्, छोरा बुहारी !