हो ! म डरपोक हुँ
सबैसँग डराउँछु
संसारसँग मात्र होइन
आफैँसँग डराउँछु
आफैँलाई भुली
कहिलेकाहीँ शून्यतामा हराउँछु
हो साथी !
हो म डरपोक हुँ
यहाँ म सबैसँग डराउँछु

अन्धकारमा साथ छोड्ने
आफ्नै छायासँग डराउँछु
स्वार्थपूर्तिपश्चात् हराउने
मायासँग डराउँछु
यताउता परवाह नगरी
जब म सत्यतामा हराउँछु
तत्कालै आफ्ना सामु
व्यवधानहरू पाउँछु
त्यसैले त हिंसा निम्त्याउने
सत्यदेखि डराउँछु
आफैँलाई भुली
कहिलेकाहीँ शून्यतामा हराउँछु

डराउन कुनै कारण चाहिन्न मलाई
म त
पछि पार्न
अघि सार्ने
साथका हातदेखि डराउँछु
उम्लिएर पोखिन खोजेका
प्रेमिल मातदेखि डराउँछु
सबैलाई लट्ठ बनाउने
सुन्दर रातदेखि डराउँछु
मेरो त कुरै नगरौँ साथी
सफलता खोज्ने
आफ्नै जाँगर र आँटदेखि डराउँछु
हो ! म डरपोक हुँ
सबैसँग डराउँछु
आफैँलाई भुली
कहिलेकाहीँ शून्यतामा हराउँछु

हो !
म निस्वार्थ भित्र लुकेको
स्वार्थदेखि डराउँछु
आशीर्वाद हो कि सराप हो
शिरमाथि तेर्सिएका
हातदेखि डराउँछु
सबैलाई विश्वास गर्ने
आफ्नै मनदेखि डराउँछु
सबको जीवन धान्ने
धनदेखि डराउँछु
चलिरहेको समयसँगै
दौडिरहेको जीवनदेखि डराउँछु
काइदाको फाइदाभित्र लुकेको
बेफाइदादेखि डराउँछु
मिठो हाँसोभित्र लुकेको
पीडाको पासोदेखि डराउँछु
सुन्दर नयनभित्र लुकेका
गिद्दे नजरदेखि डराउँछु
अर्काको आशमा अडेको
आफ्नै श्वासदेखि डराउँछु

बस् !
म दानव होइन
आजभोलि
मुकुटे मानवसँग डराउँछु
हो ! म डरपोक हुँ
सबैसँग डराउँछु
संसारसँग मात्र होइन
आफैँसँग डराउँछु
त्यसैले त बारम्बार भन्छु नि साथी
म डरपोक हुँ !
सबैसँग डराउँछु
यहाँ म
संसारसँग मात्र होइन
आफैँसँग डराउँछु ।