गौंथली !
मसँग
कथा कविताका
अनन्त शब्दहरू छन्
मेरा भकारीमा
मुरी मुरीका बीऊ अन्न छ , भोलिलाई
मसँगै छन्
थरिथरिका, रङ्ग रङ्गका वस्त्रादि सबै
तर मलाई
तँ र तेरै फुर्र फुर्र मन पर्छ
तेरो चिरबिर चिरबिर मन पर्छ
मलाई लाग्छ
तेरो आफ्नै परिश्रम, आफ्नै पसिनाको
विशाल अग्लो आकाश छ
त्यही अग्लो आकाशमा
तँ खुशीहरू उफार्छस्, सखारै

गौंथली !
त्यसैले,
मैले मेरो कवितालाई
ह्याण्डस अप गरिदिएँ
मानिसले कहिल्यै
तैंले जस्तै
थौरै शब्दहरूले
अपार आनन्दमा
कविता लेख्न सकेन

गौथली !
तेरा सबै कविता
आकाश जत्तिकै विशाल छन्
उँचो आकाश माथि उफ्रन्छन्
हो
यी मानिसका तेरा जत्तिकै
खुशीका सृजना छैनन्
कुनै कवि नै छैनन्,
कुनै कविता छैनन् ।

कन्याम, इलाम