तिमीझैँ भाग्यमानी रहेछ यो फूल
सहेर कयौँ हुरी बतास
घाम र पानी मुस्कुराई रहेछ काँडाहरूमाझ
जसरी तिमी मुस्कुराइरहे छौ
यो विसंगत समाजमा फैलाएर आफ्नो प्रतिभाको सुगन्ध
फैलाएर प्रेमका सुगम बास्नाहरू
सबै फूलले कहाँ पाउँछन् र!
उद्यानमा फुल्ने अवसर
फुल्छन् कुनै फूल भीरमा कुनै नदीको तिरमा
र चढाइन्छन् कुनै फूल देउरालीका देवतालाई
कुनै चढाइन्छन् श्रद्धा सुमनसहित तस्वीरअघि
र कुनै फूल सजिन्छन् महाराजको शिरमा
सायद पहिले लेखिएको हुन्छ तकदीरमा
कहाँ चुँडाइन्छ फूल, कहाँ चढाइन्छ फूल
कहाँ सजाइन्छ फूल
तिमी हुर्किएर यिनै दुर्गम भेगहरूमा
यिनै सुदूर लेकहरूमा कन्दरा र पाखाहरूमा
अब तिमी सजिनुपर्छ
विज्ञान कला र साहित्यका हाँगाहरूमा
तिमी बहनुपर्छ पवित्र हिमाली जल बनी
पहाडी झरना र छाँगाहरूमा
फूल कुनै दिन ओइलाउला
झर्ला कतै दोबाटोमा
सुगन्ध उडाइदेला, लैजाला कतै बतासले
तर ओइलाउनु र नबतासिनु बतासको वेगसँगै
तिमी फक्रिरहनु फुलिरहनु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।