नदी
रफ्तारमा दौडिरहेको छ
नागरिकहरू भेलमा बेपत्ता छन्
झिनो आशा लिएर
टुलुटुलु अनुहारहरू गहिराईतिर हेर्छन्
हेराईहरू छालले डुबाइदिन्छन्
पर्खाईहरू थाकेका छैनन्
किनारामा शिर राखेर आफन्तहरू रोई रहेछन्
चिच्याई रहेछन्
टोलाई रहेछन्
उफ् !
आत्मियजनहरूलाई
यो समय कति पीडा होला ?
बतासले कठालो समातेर भुईंमा बजारिरहेछ जहाज
आगोले अँगार बनाइरहेछ यात्रीहरू
लप्काहरू भित्र चित्कार सुनिन्छन्
भयका काँडाले घोचीघोची अस्ताउँछन् जीवनहरू
उफ् !
यो समय
पहिरोले किमा बनाइरहेछ गाउँ
तलाउमा उत्रिरहेछ शहर
तुइनमा झुण्डिरहेछ कर्णधार
एकतमासले विदेश भागिरहेछ मगज
सुसाइड नोट बोकेर घुमिरहेछ भविष्य
लिलामीमा छ सपना
फुल्नुअघि नै निमोठिएको छ कोपिला
सखारमै अस्ताई रहेछ घाम
आर्तनाद गरिरहेछन् मानिसहरू
कसैले सोधिरहेछ नेपथ्यबाट
के यो सच्चाई हो ?
………
तर सच्चाई
यो हो कि
वर्षौंदेखि दान भेटी र आस्था बटुल्दै आएको
मेरो ईश्वर
कान नसुनेझैं गरेर
आँखा नदेखेझैं गरेर
विवेक शून्य मुद्रामा
मन्दिरको नाभीमा बसेर हेरिरहेछन्
कुनै उत्सवको रमिता ठानेर
उफ् !
मानवहरूलाई
यो समय कति पीडा होला ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।