जिम्मल बा
गाउँभरिका सबैका प्रिय
घरको पिँढीमा एक्लै
गुनगुनाउँदै, कङ्कड मोल्दै
सुल्पा तयार गर्दै बोलिरहेका रहेछन्
एकसुरमा-
‘अब आफ्नो भन्नु कोही रहेनन्
आफ्ना भन्नेहरू पनि कोही भएनन् !’
अनायास झसङ्ग हुन पुगे उनी
मेरो परिचित आवाज
बेस्वादले कानमा बजारिएपछि
बेसुरे अत्यासमा पार्यो उनलाई
मेरो आगमनले
मायालु झङ्कार सुसेली हाले
सुस्तरी-
‘किन आइस् बाबू ?
को छ र तेरो यो गाउँमा ?
हामी काल पर्खेका बूढाखाडाको
के नै अस्तित्व छ र आजको जमानामा !’
जिम्मल बा अनवरत खोकिरहे
बोलिरहे नानाभाँती
तुक न बेतुकका कथा सुनाइरहे
मलाई न कथामा चासो छ
न उनको दैनिकीमा
भने कानमा सुटुक्क-
‘म थाकिसकेँ
म गलिसकेँ
जिन्दगीका गन्तव्यहरू भुलिसकेँ
जीवनसँगै हारिसकेँ !’
उनी थाक्नु, गल्नु, भुल्नु र हार्नु पनि त
सरोकारको विषय होइन मेरो
निरन्तर सोधिखोजी गरे उनले
– मेरो लक्ष्य
– मेरो गन्तव्य
– मेरो जिन्दगी
– मेरा पाइला
– मेरा सोचाइ
– गाउँसँगको मेरो सम्बन्ध
– म गाउँ आउनुको रहस्य
बिस्मातमा परेँ म
अल्मलिएँ
जिम्मल बाको तिर्सना मेटाउन नसकेर
उनकै शरणमा परेँ
तथापि उनको जिज्ञासाको भेल रोकिएन
प्रष्ट जान्न खोजिरहे उनी
मेरो यात्रा र गन्तव्यबारे
फूर्तिका साथ सुनाए
जिम्मल बाले-
‘टारीखेत खोलाले बगायो
बारीको पाटो बाँझो भयो
हलगोरु भोकै मरिहाले
लैनो भैँसी दाम्लो छिनालेर भाग्यो
बाख्राहरू घाँस नपाएर छिमेकीको करेसामा पसे
केवल बाँकी छ मसँग
काले कुकुर
उही हो मेरो साथी
मेरो परिवार
ऊसँगको मेरो दिनचर्या
बरु मजाको छ ।’
जिम्मल बाले सुनाए-
‘बूढीलाई झाडापखालाले लग्यो
ठूलो दाइ भुईँचालोको साथी बने
बैनीको घर पहिरोसँगै झर्यो
मावलीगाउँ बाढीले बगायो
काकाको गोठ डढेलोले जल्यो
तल्लाघरे बाजेको मन्दिर लुटियो
खालि बाँकी छ-
यो भत्किन लागेको पालीझुप्रो
दाउरा थन्क्याउने पानी चुहिने गोठ
मेरा लागि बूढीले छाडेकी नासो
डोको र नाम्लो
त्यही सुमसुम्याएर बाँचिरहेको छु म त ।’
जिम्मल बा निरन्तर खोकिरहे
र पनि बोलिरहे-
‘बारी बाँझो भयो
खेतमा झारपात उम्रियो
गाईबाख्रा हराए
मान्छेहरू शहर पसे
गाउँ रित्तियो
केवल मजस्ता एक्ला बूढा
गाउँ रुङेर बसेका छौँ
तिमीहरूजस्ता बुद्धि बिग्रेका
स्वाँठ छोराछोरीलाई
गाउँमा स्वागत गर्न ।’
सोचमग्न भएँ,
भावुक हुन पुगेँ म
र, भनेँ-
‘अब म गाउँमै बस्ने !
शहरदेखि वाक्कदिक्क भएँ
गाउँको सम्झना आयो
पँधेराको पानीको तिर्खा लाग्यो
खेतबारी हराभरा भएको हेर्न मन लाग्यो
गुजार्न मन लाग्यो
आफ्नै बासँग केही समय
सुन्न मन लाग्यो- बाहरूका
सङ्घर्षका गाथा
त्यसैले जिम्मल बा
फर्किएर आएँ म गाउँमा ।
हजुर अपरम्पार शक्तियुक्त हुनुहुन्छ
गाउँको मियो हुनुहुन्छ
अभिभावक हुनुहुन्छ
कहिल्यै नसकिने राष्ट्रिय सम्पत्ति हुनुहुन्छ
सर्वज्ञ हुनुहुन्छ, मर्मज्ञ हुनुहुन्छ
मलाई यत्ति बताइदिनुस् न-
म शहरमा भासिएको बेला
मेरा बाले पनि यस्तै भन्थे ?
‘आफ्नो भन्नु कोही रहेनन्
आफ्ना भन्नेहरू कोही भएनन् !’
यसबखत जिम्मल बा
निरुत्तर हेरिरहेछन् मेरो अनुहार ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।