(प्रिय गायक भक्तराज आचार्य प्रति श्रद्धासुमन)
उसो त समयले सबै आवाजलाई सुन्छ
सहस्र आवाजहरूलाई भुलिदिन्छ
तर केहीलाई लामो समयसम्म
सम्झनामा राख्छ
तर कोही खास यस्तो होस्
जसको गलालाई बेहद पर्खियोस् र सुनोस्
जसको गलाको सुन्दरतादेखि अचम्भित होवोस्
कोही खास यस्तो होस्
जसले गलामै धुप सल्काओस्
गलामै मगमगाओस्
र त्यो मगमगले करोडौँलाई छोइरहोस्
भक्तराज त्यही गलाको नाम हो
तर यस्तो नहोस्
कि जुन समयले पर्खियो र सुन्यो
त्यही समयले
उसको त्यो धुन पस्किने जिब्रै थुतेर लगोस्
तर नहोस् भनेकै भइदियो
एक साँझ कुनै दुर्जनको अखडामा
भक्तराजको गलामा
रात रोपियो
पहाडको टुप्पोबाट लड्दै लड्दै
झरेको घाइते बाछोजस्तो
भक्तराज सुरहीनताको फेदीमा खस्यो
र उस्को देवता उसकै काखमा मुर्छा पर्यो
सुरको आसनबाट
राग पस्कने जिब्रै गुमाएपछि पच्चिसौँ वर्ष
कसरी बाँच्यो ऊ शून्यतामा?
अमृत फुट्ने गलाको जरूवा
सुकेर चिरिएको महसुस गर्दै कसरी गुजार्यो पलहरू?
आफ्नै सुरका सुकेका ओठ छाम्दै
के गरी काट्यो दिनहरू?
त्यो बेहद सुखा खण्डहर बनेको जीवनमा
जसले बचायो उसलाई
त्यो प्रेम थियो, त्यो ईश्वर थियो
जसको गलाबाट संगीतकी देवीले गाइन्
जसको स्वरमा ईश्वरले बास मागेर बस्यो
त्यो सुरराज भक्तराज थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।