नदीका छालहरूसँगै सपना साटिरहेछ
भविष्य गनिरहेछ
तीन बीस हिउँद खाएको एउटा बूढो माझी

अविरल बगिरहेछ नदी
अनुभवका खहरेहरूसँगै
हरेक दिन उसका दैनिकीहरू
नदीमा पुगेर मिसिन्छन्;
उही आत्मीयता साट्दै

जीवन के हो थाहा छैन उसलाई
तैपनि बाँच्नुपर्छ हाँसेरै
हाँस्नुपर्छ बाँचेरै
हिँड्नुपर्छ सपना साँचेरै
भन्ने जानेको छ उसले

हरेक ब्युँझाइहरूमा
आशा अनि उमंगहरू लिएर
उदाउने उसका बिहानहरू
“थाहा छैन उसलाई”,
महत्त्वाकांक्षी रहरहरूले खन्ने
निराशाका चिहानहरू

“आफैं सङ्लिँदै जान्छन्”
धमिलिएको पानीसँगै
अनुवादित उसका पीडाहरू
नदीजस्तै…।

कुनै गुनासो छैन उसलाई
माछा मार्ने नियतिसँग
न त ऊ हिसाबै राख्छ
“कति पाएँ, कति गुमाएँ
मैले जीवनमा”
किनकि ऊ गणित जान्दैन

दिनभरिको पसिना बेच्छ ऊ
बाँच्ने गरेको उधारो जीवनको ऋण तिर्न
अविरल हाम फाल्दै हिँड्छ नदी छाँगाबाट
आफ्नो बाटो बनाउँदै
समुद्र भेट्ने प्रतीज्ञा पूरा गर्न
यसरी निरन्तर उस्तै प्रवाहमा बगिरहेछन्;
एउटा बुढो माझी र नदी…।

बर्दघाट नगरपालिका वडा नम्बर -१०, नवलपरासी