क्षितिजमा लाली पोतेर
हाजिर गर्दै बिदा हुन्छ सूर्य

चुच्चोमा आहारा च्यापेर
गुँड फर्कन्छ चरी

बेसीबाट गोरु धपाउँदै
गाम उक्लन्छ किसान

सन्ध्या जगाउँदै
बाजा बजाउँछ झ्याउँकिरी

पात हल्लाउँदै
दिनलाई बिदा गर्छन् सल्लाका रुख

चिसो हावाले
थकित शरीरलाई ऊर्जा दिन्छ

ओइलाउँदै खुम्चन्छ
जिब्रे फूल

बाँसको झाङमा
दिनभरको समीक्षा बैठक बस्दै
बास बस्छन् सारकोटेको बथान

बिस्तारै घुम्टो उघार्छ जून
र कलमले आशातित भावले कविलाई हेर्छ,
कहिले लेख्छस् गोधूलीको कविता?

कवि दोधारमा पर्छ
कसलाई समर्पित गरौँ यो गोधूली कविता
वर्षौं पहिले स्कुल जाँदा
उतैबाट क्रान्ति गर्छु भन्दै
गएर बेपत्ता छोरा कुरेर
हरेक साँझ कुरेर बस्ने आमालाई
समर्पित गरौँ
कि
मलेसिया गएर सम्पर्कविहीन भएको
श्रीमान् कुरेर बसेकी चेलीलाई
कि
पहिरोले घर लाने हो कि भनेर
रातभर जागै बस्ने डाँडाघरे कान्छालाई
कि
रात रात सत्ता परिवर्तनको
तारताम्य मिलाउने नेतालाई
कि
कुन बेला जाँड धोकेर आएर
भकुर्ने हो भन्दै पर्खाइमा बसेकी
जँड्याहाकी स्वास्नीलाई
कि
त्यही कलमलाई
जसलाई गिज्याइरहेका छन्
किबोर्ड र टच स्क्रिनले।

गोरखा