

तुलसी दिवस
तुलसी दिवस – आधुनिक कविताको एक विशिष्ट धरोहर । नेपाली भाषा/ साहित्य र संस्कृतिका एक दिग्गज व्यक्तित्व ।
कवितामय आवाज / प्रखर प्रस्तुति / धाराप्रवाह अभिव्यक्ति/ शान्त र गम्भीर स्वभाव तुलसी दिवसको परिचय हो । जीवनको अधिकांश समय कवितामय बनाउन सफल उनी, नेपाली कविताका थोरै चुलीहरू मध्येका उच्चचुली हुन् ।
दिवस कवितामा नूतन प्रयोग / कुशल शब्द-शिल्प / हार्दिक भावका साथै अर्गानिक र उम्दा बिम्ब मार्फत प्रस्तुत हुन्छन् । वाचन कलामा प्रख्यात रहेका कवि तुलसी दिवसका कविता प्रखर / युगबोधी र तेजिला लाग्छन् । कवितामा युगको शाश्वत प्रतिबिम्बन गर्ने खुबी रहेका दिवसका कवितामा उनले भोगेको समयको बास्ना मगमगाउँछ ।
उनका कवितामा मानव हृदयमा संवेद्य संवेदनाहरूको लामो सुस्केरा पाइन्छ भने जीवनको शाश्वत सत्य र सौन्दर्यलाई पक्रने चेष्टा हुन्छ । युगीन अनुभूतिले संवेष्टन भएका उनका अधिकांश कविताहरू कालजयी र पठनीय छन् ।
वि.सं. १९९८ साउन ठाडाेबजार, धनकुटामा माता चण्डिकादेवी जोशी र पिता महाप्रशाद जोशीको कोखमा जन्मिएका ‘तुलसीप्रसाद जोशी’ नै नेपाली साहित्यमा तुलसी दिवसका नाउँले सुविख्यात भएका हुन् ।
शिक्षा : एम.ए.नेपाली त्रिभुवन विश्वविद्यालय / लोकवार्ता गाकुसु युनिभर्सिटी, जापान ।
दिवस नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ /विभिन्न देशी-विदेशी विश्वविद्यालयमा प्राध्यापक र संस्कृतिविदका रूपमा सक्रिय रहेको देखिन्छ ।
प्रस्तुत छ : आजभन्दा ६२ वर्षअघि [ वि.सं. २०१९ साल चैतको रूप-रेखा पत्रिका ] प्रकाशित ‘मेरो हार : मेरो नींद’ शीर्षकको कालजयी कविता ।
मेरो हार : मेरो नींद
– तुलसी दिवस
म भित्रको
मेरो अभिमान भरिएको बेलून
कसरी अग्लिंदै अग्लिंदै फुट्दोरहेछ !
आकाश छेड्न तम्सेको मेरो बाँस
कसरी आफैं नुहुँदोरहेछ !
सम्पूर्ण विद्यामा पार
फस्ट किन आफूलाई
कोखमा पुस्तक च्यापेर
स्कुल जाँदै गरेको बालक सम्झिदोरहेछ !
आज ममा साकार हुन आउँछ
नीलो वागमा फुलेका ताराहरू गुथेर
मायालु पैरन खोज्ने,
चन्द्रमालाई चाचा-पापा संझी
सोहोरेर धरती सिंगार्न खोज्ने
उम्रेको खाइलाग्दो बिरुवा – हनुमान,
जरासंघको फिला च्यात्ने वीर बलमान्
मेरै चाहाना कामनाका कोमल पालुवाहरू
कसरी अकासिंँदै चङ्गा बनेर,
हिउँद लागेसरी
अभावको ध्वाँसे बादलमा पहेंलिएर,
उड्दैगरेको चरीले
तातो गोलि भेटे झैँ
पखेटा फट्फटाउँदै झर्दारहेछन् !
मेरै दह्रा हाँगाहरू
सियो राख्ने ठाम समेत नभई
दाउरेहरूबाट बञ्चरिएका छन् !
सिधा पाएर
आरावालाहरूको आँखा पनि यहीँ लागेको छ ।
आमा भइसकेकी आइमाईको स्तन झैँ
मेरा मासु सब थलथलिएको छन् ;
मैले साँच्ची हृदय च्यातें,
आफूलाई ढाँटिन भनें –
ठूलो रूखको फेदमा हुर्केको
बिरुवा झैँ कचिसकेको,
कोठाको किलामा झुण्ड्याएकाे
लुगासरी झरेर खुम्चिएको
पाकेको हलुवाबेद झैँ
बिनासिँदै गएको,
पिर्तीको बाजीमा हार खाएको
प्रेमी झैँ कमजोर,
कलिलो बाँसको धनु झैँ फितलो,
ज्यूँदै मरेको मान्छे
अघि बाटैमा हैजाले भेटेर
बीच बाटैमा लम्पसार
अधकल्चिएको म
एक हतभागी भरौटे हुँ ।
मलाई मरेको ठानी,
आँसुको कात्रोले ढाकेर
हातमा दागबत्ति ली,
मेरो अन्धकार संसारमा
चन्द्रमा बन्ने मेरा सन्तानहरू !
अनुहारमा मुस्कान लेऊ
मेरो जीवन आँसुको हार भए पनि
मेरो ‘हार’ मृत्यु होइन ;
तर विजय सधैं मेरो जीवन हुन्छ ।
अनि जीवन खोज्ने मेरो आत्मा
सत्यको उद्घाटन गर्छ,-
“विजय मनुको जन्मसिद्ध अधिकार हो”
त्यसैले म मायालु काख भन्छु,
न्यानो हृदय रोज्छु ;
एकछिन निदाउन खोज्छु;
किनकि ‘हार’ त मेरो नींद हो,
भोलि म फ़ेरि बिम्झन्छु ।
***
– रूप-रेखा २०१९ चैत्र, अङ्क ११
र्



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

