केही माया
केही सम्बन्धहरू
केही थान सपनाहरू
केही साथ र भरोसाहरू
अनि सिंहदरबारका लागि केवल केही थान तथ्याङ्क
जसका चिच्याहट र ऐँठनको ग्राफ
भ्यु टावर र नेप्से भन्दा अग्ला थिए
जसका हृदय कुनै एलिटको चिया बगानभन्दा फराकिला थिए,
जसको महत्त्व कसैका लागि
पशुपतिको स्वर्ण जलाहरी भन्दा पनि बहुमूल्य थिए
तर अफसोस् , श्रावणको एक थोपा पनि स्पर्श नभई
एउटा नदीले आफूभित्र समाहित गर्यो
ती … सबै, … सबै,
अनि कसैलाई साँचेर राखेका हरिया चुराहरू
मेघ गर्जनसँगै फुट्यो
फेरि कहिल्यै नजोडिने गरी
कसैको हातको नामाङ्कित मेहन्दी
सधैँका लागि मेटिएर गयो
अनि जसको शोकमा नयाँ दौरा सुरुवाल कोट लगाएर
बालुवाटारले मौन धारण गरिरह्यो
हो साँच्चै,…
साँच्चै नै काउँरेड
तिमीले ठीक भनेथेउ
दुःख, आँसु, व्यथा अनि शोक वर्गीय हुँदोरहेछ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला