हिमाल आरोहण भन्दा कम कठिन हुँदैन
सत्ताको आरोहण
सगरमाथाको चुचुरो जत्तिकै अग्लो हुन्छ
सत्ताको उचाई
भिरालो र चिप्ला घुम्तीमोडहरू सहितको साँघुरो हुन्छ
सत्ताको राजमार्ग
कहालीलाग्दो द्रूत गतिको हुन्छ
सत्ता आरोहणको यात्रा
षडयन्त्रका तानाबाना र जालझेलमा अल्झिएको हुन्छ
सत्ताको योजना
शक्ति र पूँजीवादी वैभवले ढाकिएको जाज्वल्यमान हुन्छ
सत्ताको गन्तव्य
हिमाल चढ्दा जस्तो बोकिएको हुँदैन अक्सिजनका सिलिण्डर
सत्ताको भर्याङ चढ्दा
निर्धक्क बोक्नु पर्छ आफैंले सत्ताको उचाईमा श्वास फेर्ने
निजी फोक्सो र धमनीहरू
नयाँ नयाँ डोबहरू खन्ने औजारहरू हुँदैनन्
पहिल्याउनु पर्छ आफैँले टाकुरामा पुग्ने सत्ताका सूक्ष्म गोरेटाहरू
हिउँका डल्लासँग पौँठेजोरी खेल्ने तिखा चुच्चे जुत्ताहरू हुँदैनन्
सत्ताका खेलमा
तेन्जिङ र पासाङ ल्हामुहरू निर्धक्क हिमाल चढ्न सक्छन्
तर सत्ता चढ्न सक्दैनन्
आङरिता र कामीरिताहरु कयौंपटक सर्वोच्च शिखर आरोहण गर्न सक्छन्
तर सत्ता आरोहण गर्न सक्दैनन्
हिमाल चढ्न साँच्चिकै ठूलै साहस चाहिन्छ
विशाल फराकिलो छाती र स्वच्छ मन चाहिन्छ
दर्बिलो चाहना र गर्विलो भावना चाहिन्छ
र चाहिन्छ अन्तर्मनको निर्भीक ऊर्जा
तर
सत्ता चढ्न साहसले मात्र पुग्दैन
चतुर र कठोर खालको एउटा मन चाहिन्छ
अलिकति सेतोकालो धन चाहिन्छ
समय चिनेर आँटनु पर्छ, आवश्यक पर्दा ढाँटनु पर्छ
पार्टीमा बलियो गूट चाहिन्छ, पत्याउने खालको झूट चाहिन्छ
सत्ता चढ्न दिमागको बगैँचाभरि
खुराफातका काँडेदार फूल फुलाउन सक्नुपर्छ
झिकेर फूलबाट तिखाकाँडाहरू
आफ्नै सहकर्मीहरूलाई निर्लज्ज घोच्न र चिथोर्न सक्नु पर्छ
मान्छेका मस्तिष्कका गहिराईमा चोबलेर सत्ताका चास्नीहरू
भरोसाको गुलियो स्वादले लालायित पार्न सक्नु पर्छ
आफ्नै सहयोध्दालाई निर्धक्क कान्ला मुन्तिरै धकेल्ने
आँट र साहस सँगाल्नु पर्छ
पराई ठानिएका प्रतिस्पर्धीहरुलाई
सहर्ष गलामा अँगाल्नु पर्छ
त्यति सजिलो कहाँ छ र सत्ताको भर्याङ चढ्नु
कहिले जनताको अभिमतको बहानामा
कहिले उथलपुथल पार्छु भन्ने सत्ताका खेलाडीको चाहनामा
कहिले राष्ट्रियता र स्वाभिमान देखाउँदै
कहिले आफैँभित्रको अभिमान खन्याउँदै
कहिले घमण्ड र उद्दण्डता
कहिले झनक्क र सनक्क
कहिले मञ्चमा त कहिले प्रपञ्चमा
कहिले घातमा र कहिले प्रतिघातमा
उत्रिनु पर्छ सत्ताको खेलमा
यस्तै यस्तैमा अडिएको हुन्छ सत्ताको अग्लो भर्याङ
त्यति सजिलो कहाँ हुन्छ र सत्ता आरोहण
हिमाल आरोहण भन्दा कम कठिन हुँदैन
सत्ताको आरोहण ।
वीरगञ्ज
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।