महाकवि मौलाना मोहम्मद जलालुद्दीन रूमी १३ औँ शताब्दीको प्रेम र ईश्वर भक्तिको सुन्दर सम्मिश्रण गरेर लेख्ने अफगानी कवि हुन् । उनले सूफी परम्परामा नर्तक साधुहरू (गिर्दानी दरवेशों) को परम्परालाई हुर्काउने र फलाउने काम गरे । विश्वमा उनका कविताको किताब अत्यधिक बिक्री हुने सूचीमा पर्दछ ।

युगान्तकारी कवि रुमीका केही कविताहरूलाई अनुवादक जनक कार्कीले प्रस्तुत गर्नुभएको छ ।

——————————————

कसैले पनि यो नसोच्नु कि हामी नराम्रोसँग विक्षिप्त भइसकेका छौँ;
हामी चर्किसकेका छौँ
पात मात्रै झरेको हो हाम्रो
आउने वसन्तको स्वागतमा ।

* * *

खराब समयले सामुन्ने आएर डर देखाउँछ
हरेक निराशालाई कुनै आशाले नियालिरहेको हुन्छ
प्रत्येक अँध्यारोलाई सूर्यको प्रकाशले खोज्छ ।

* * *

तिम्रो आधा जिन्दगी अरूलाई लोभ्याउनमा बित्यो

आधा जिन्दगी अरूले निर्माण गरेको भ्रममा बित्ने छ
अब बहकिन छोडिदेऊ
यो खेल तिमीले धेरै खेलिसक्यौ ।

* * *

क्रोध आँधीबेहरी जस्तै हो
जुन केही समय पश्चात शान्त हुन्छ
तर त्यतिबेलासम्म धेरै हाँगाहरू भाँचिइसकेको हुन्छ ।

* * *

व्यर्थको चिन्ता छोडिदेऊ
जे गुमाएको छौ
कुनै अर्को माध्यमबाट प्राप्त हुनेछ ।

°°°

खलीफाले लैलालाई सोधे-
साँच्चै ! तिमी त्यही हौ, जसका लागि मज्नुले होश गुमाएका थिए ?

के तिमी त्यही हौ, जसको लागि मज्नु पागल भयो ?

यो संसारमा तिमीभन्दा धेरै सुन्दर स्त्री छन्

म आश्चर्यचकित भएको छु

तिमीजस्तो सुबोध !

तिमीजस्तो साधरण मान्छेलाई मज्नुले आफ्नो मन अर्पण गरे !

लैलाले मन्द आवाजमा भनिन्-

चुपलाग खलीफा

तिमी मज्नु होइनौ, न तिम्रो दृष्टि मज्नुको जस्तो छ

यदि मज्नुको जस्तै नजर भएको भए तिमी दुईवटा

संसार एकैपटक देख्न सक्षम हुन्थ्यौ

तिमी त होशवाला हौ

तिमीलाई के थाहा बेहोस हुनुको अर्थ !

प्रेम मस्त भएर गरिन्छ

प्रेममा होशियारी हराम हो

तिमी आवश्यकताभन्दा बढी होशमा छौ

आवश्यकताभन्दा बढी जागृत छौ

स्मरण रहोस् मान्छे बाहिर जति जागृत हुन्छ

ऊ भित्रको प्रेम त्यति नै सुतेको हुन्छ ।

°°°

थोरै मूर्खतापूर्ण काम गर

थोरै पागल बन

नूहले जस्तै एउटा विशाल डुङ्गा बनाऊ

पागलपनको डुङ्गा बनाऊ

कहिले यो नसोच्नु कि तिम्रा बारेमा अरूले के धारणा राख्छन् ।

°°°

व्यर्थमा किन चिन्ता गर्छौ ?

जे गुमाएका छौ

स्वरूप परिवर्तन गरेर

तिमीसामु पुनः आउने छ ।

°°°

तिम्रो हृदय

सागरजस्तै विराट छ

डुब ! पौड

सागरले लुकाएर राखेको गहिराईमा

तिमीले स्वयंलाई पाउने छौ ।

°°°

तिमी जसलाई खोजिरहेको छौ

उसले पनि तिमीलाई खोजिरहेको छ ।

°°°

यदि खोज्नु नै छ भने

प्रेम नखोज ; त्यसका बाधाहरूलाई खोज

जसलाई तिमीले आफूभित्र निर्माण गरिरहेका छौ

त्यही बाधाहरूले प्रेमको धारालाई रोकेर राखेको छ ।

°°°

प्रेम के हो ?

– एउटा गुप्त आकाशतर्फ उड्दै जानु

– केही यस्तो गर्नु, जसले हरपल सयौँ मुखौटा उतारिदियोस्

– प्रकाशलाई समातेर राख्नुको साटो त्यसलाई जान दिनु

– नहिँडेरै पाहिला बढाइदिनु

°°°

के तिमीलाई यो कुरा कहिल्यै महसुस भएको छ कि

तिम्रो हृदयभित्र एउटा दीपक छ

जो प्रज्वलित हुनका लागि तम्तयार भएर बसेको छ

उसैगरी तिम्रो आत्माभित्र एउटा खाली ठाउँ छ

जो भरिलो हुने प्रतीक्षामा छ

के तिमीलाई यो कुरा कहिल्यै महशुस भएको छ ?

°°°

आफ्नो हृदयलाई

तबसम्म टुटाइराख्नु

जबसम्म पूर्णत: खुल्दैन ।

°°°

जुन पीडा तिमीले महशुस गरेका छौ

यही पीडाले तिमीलाई कुनै सन्देश दिन खोज्दैछ

त्यो सूचनालाई ध्यान दिएर सुन ।

°°°

तिनीहरूलाई बिल्कुल ध्यान नदेऊ

जसले तिमीलाई डराउन खोज्छन्

उदास बनाउँछन्

उनीहरूले तिमीलाई रोगी बनाउने छन्

मृत्युको बाटोमा लिएर जानेछन् ।

°°°

आफ्नो जिन्दगीमा आगो लगाइदेऊ

अनि त्यस्ता मान्छे खोजेर ल्याऊ

जसले आगोको ज्वालालाई भड्काउन सक्छ्न् ।

°°°
आफ्ना सारा चातुर्य बेचिदेऊ

आश्चर्य खरिद गर ।

°°°

जुन घाउ तिमीलाई लागेको छ नि !

हो, त्यो त्यहीँ ठाउँ हो जहाँबाट तिमीभित्र

प्रकाश प्रवेश गर्ने छ ।

°°°

तिमी पखेटा लिएर

जन्मिएका हौ !

किन बामे सरेर हिँड्छौ !

°°°

झ्याल खुल्ला छ

र पनि तिमी बन्दी भएर बस्न किन चाहन्छौ ?

°°°°

त्यो ज्ञानलाई खोज

जसले तिम्रो मनको गाँठोलाई खोलिदिनेछ !

त्यो मार्ग रोज

जहाँ तिमी अस्तित्वलाई सुरक्षित राखेर हिँड्न सक्छौ !

°°°

यसरी गाउन चाहन्छु

जसरी पंक्षीले गाउँछ

पंक्षीले कहिले पनि आफ्नो गीत अरूले सुन्यो कि सुनेनन्

चिन्ता लिँदैन !

°°°

जहाँ रहे पनि

जे गरे पनि

बस्

प्रेममा रहनू !

°°°

म प्रकाशमा उडेको धुलो हुँ

म नै प्रकाशको गोला हुँ

साँझबिहानको झिसमिसे हुँ

पत्थरभित्रको प्रकाश हुँं

फलामभित्र रहने सुनौलो चमक हुँ

म नै गुलाब हुँ

म नै बुलबुल हुँ ।

°°°

 

समयको घेराबाट बाहिर निक्लिएर

प्रेमको घेरामा प्रवेश गर ।

°°°

मलाई विश्वास छ

मेरा आत्मा अन्तैबाट आएको हो

मलाई यो पनि विश्वास छ

एकदिन फर्किने छ ।

°°°

तिम्रो प्रकाशमा मैले प्रेम गर्न सिकेँ

तिम्रो सौन्दर्यमा मैले कविता रच्न सिकेँ

मेरो हृदयभित्र तिमी नृत्य गर्छौ

तिमी अदृश्य छौ

कहिलेकाहीँ तिमी नृत्य गरेको मैले देख्छु

त्यो दृश्य कलामा रुपान्तरण हुन्छ ।

°°°

दुनियाँको खबर राखेर

दुनियाँको कथा सुनेर

सन्तुष्ट नहुनु

स्वयं लेख आफ्ना कथाहरू

आफ्ना पृष्ठ आफैँ खोल

तिमी र यो दुनियाँको बीचमा

मात्र एउटा पुल छ

त्यसको नाम हो -प्रेम ।

°°°

मौन नै ईश्वरको भाषा हो

बाँकी सब त्यसको खराब अनुवाद ।