पराग पावन नयाँ पिँढीका हिन्दी कवि हुन् ।

 

पराग पावन

यो धरतीमा बम पड्काउनको लागि ठाउँ छ
बलात्कार गर्नको लागि ठाउँ छ
दङ्गाको लागि ठाउँ छ
ईश्वर र अल्लाहलाई पल्टिनको लागि पनि ठाउँ छ
तर तिमीसँग भेट्नको लागि
पैतालाभरि जमीन छैन यो धरतीसँग

जब पनि म तिमीसँग भेट्न आउँछु
दाइको दाइजोवाला बाइक ल्याएर
सभ्यताहरू उखेलेर लैजान्छन् त्यसको स्पार्क प्लग
संस्कृतिहरू पञ्चर गरेर जान्छन् त्यसको टायर
धर्म फोडेर जान्छ त्यसको हेडलाइट
वेदका ऋचाहरू गुप्त सूचना गर्छन्
तिम्रो गाउँमा
र लाल अङ्गरखामा बाँधिएको रामायण समाह्वान गर्दछ
मलाई इतिहासको अदालतमा

म चिच्याउन चाहन्छु कि
देवताहरूलाई ल्याइयोस् मेरो सामुन्ने
र सोधियोस् कि कहाँ गयो त्यो जमीन
जसमा दुई जोडी पैताला टिकाउन सक्थे
आफ्नो नगरीय प्रेम
म चिच्याउन चाहन्छु कि
धर्मग्रन्थहरूलाई ल्याइयोस् मेरो सामुन्ने
र सोधियोस् कि कहाँ गए ती पानाहरू
जसमा दर्ता गर्न सकिन्थ्यो प्रेमको कखरा
म चिच्याउन चाहन्छु
कि घिसार्दै तानेर ल्याइयोस्
धर्म गुरु र पुरोहितलाई र सोधियोस्
कि के भयो ती सुक्तिहरूको
जुन दुई हृदयको सुवासित बाफले उब्जिएको थियो

मेरो विपरीत पेश गरिनुपर्छ यी सबैलाई
र फैसला भन्दा पहिले बहसहरू देवताहरू माथि हुनुपर्छ
धर्म गुरु र पुरोहित माथि हुनुपर्छ
तपाईँ देख्नुहुनेछ कि देवतालाई बहस मन पर्दैन

मैले त फोनमा भनिसके आफ्नो प्रेमिकालाई
कि तिमी चन्द्रमामा बत्ती कातिरहेकी बुढी बनिदेऊ
र म आफ्नो लोक-कथाहरूको कुनै बुढो बनिदिन्छु
सदियौँ पछि जब बम र बलात्कारबाट
बच्नेछ पिर्का जति पवित्र जमीन
तब तिमी उत्रिनु आफ्नो चन्द्रमाबाट
म निस्केर आउनेछुँ कथाहरूबाट
तब झुमेर भेट्नु मलाई यसरी कि
‘मा निषाद’को पीडा बोकेको
सिर्जिएर उठोस् कुनै वाल्मीकिको वंशज

अहिले त यो धरतीमा बम पड्काउनको लागि ठाउँ छ
दङ्गाको लागि ठाउँ छ
ईश्वरलाई पल्टिनको लागि पनि ठाउँ छ
तर तिमीसँग भेट्नको लागि
पैतालाभरि जमीन छैन
यो धरतीसँग ।