साज, बाहिया, ब्राजिल
१४ जुलाई, २०२४
आज आषाढ पूर्णिमा, गुरू पूजा गर्ने दिन,
तथागत विश्वगुरू, शिक्षा दिनुमा प्रविण।
ईशा पूर्व ५८८ मा, मृगदाव बगैंचामा,
साझा गरे प्राप्त ज्ञान, पँचभिखुको माझमा ॥
पैंतालिस वर्षसम्म, शिक्षाको ज्योति फैलाए,
करूणा राखी मुक्तिको, सुगम बाटो देखाए।
बहुत जन हिताय, बहुत जन सुखाय,
भिक्षु संघ खडा गरे, चारै दिशामा पठाए ॥
फैल्यो ज्ञानको प्रकाश, विराना देशमा पनि,
ईशा पूर्व २४६ मा, पुग्यो द्वीप ताम्रपर्णी।
महिन्दा र संघमित्ता, ती दुई भाई बहिनी,
संघ र तिपिटक ली, रोपे बोधि बृक्ष पनि ॥
ध्वज गाडे बुद्धधर्म, विश्वशान्ति र मैत्रीको,
देवप्रिय अशोकले, ईशा पूर्व २४७ मा।
पूर्वमा सुवर्णभूमी, पश्चिम यवनलोक,
मिश्र सिरिया फारस, ग्रीस र मसेडोनिया ॥
ईशा पूर्व १५० मा, यवन राजा मिलिन्द,
बुद्ध शिक्षाको रक्षक, जस्तै नाग मुचलिन्द।
मध्य एशियामा फैल्यो, बौद्ध यवनको ज्ञान,
यहीँबाट सिल्क रोड, हुँदै धर्म पुग्यो चीन ॥
कनिष्क कम थिएन, त्यो कुषाण राजपुत्र,
ईशा सन् ७८ मा गरे, राजगद्दी आरोहण।
भक्त संरक्षक बने, सद्यर्मपुण्डरिकको,
विहार स्तुप बनाए, ईरान देखि खोतन ॥
सारा अफघानिस्तान, सारा तुर्कमेनिस्तान,
छिमेक उज्वेकिस्तान, छिमेक ताजिकस्तान।
दूर्गम कजाकस्तान, र अनि कीर्गिजस्तान,
सारा बौद्धमय भए, शील समाधि र ध्यान ॥
ईशा शताब्दी ६५ मा, मिंग राजाको माथमा,
बुद्धको रश्मि टल्कियो, धन्य भयो हान वँश।
यहीँको माटोमा फुल्दै, त्रिरत्न पुगे कोरिया,
ईशा शदी ३७२ मा, ३ राजा गए शरण ॥
ईशा शदी ५५२ मा, कोरियन राजा सेयों,
पठाए धर्म सौगात, सूर्योदय हुने द्वीप।
जपानी नृप किन्मैले, पनि शिरोधार्य गरे,
हितकारी शिक्षाशास्त्र, भई कृतज्ञ सुप्रीत ॥
ईशा शदी ६२२ मा, राजा सोङ्गतेन गँपो,
भित्राए हरित तारा, नेपाली छोरी भृकुटी।
सधर्म तिब्बत पुग्यो, छिमेकी आचार्य पुगे,
साथै लगे अरनिको, नेपालका कला कृति ॥
ईशा सातौं शताब्दीमा, धर्म पूर्वेतर पुग्यो,
श्याम लाओ कम्बोडिया, मलय इन्डोनेशिया।
ईशा आठौं शताब्दीमा, ब्रुनई र फिलिपिन्स,
पुगेथ्यो दोस्रो शदीमै, भियतनाम सचीन ॥
२६०० वर्षको यो, गुरु शिष्य परम्परा,
अविछिन्न छ यसको, सुसाँघिक ईतिहास।
तथागतको बाहेक, छैन अन्य संस्कृतिमा,
पाँच भिक्षुका संघले, दिने प्रबज्याको पास ॥
मार्गदर्शक हो गुरु, कुनै मुक्तिदाता हैन,
तिमीले नै हिंड्नु पर्छ, कुनै अँधभक्ति हैन।
कर्म नै तिम्रो बन्धु हो, कर्म नै पटिशरण,
आफ्नै प्रयासले हुन्छौ, मुक्त सारा बन्धन ॥
॥ भवतु सब्ब मंगलं ॥
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।