
प्लास्टिकका बिरुवा, प्लास्टिककै गमलामा फुलाउँछन्
प्लास्टिककै सजावट छ, प्लास्टिककै फूलमाला पहिर्याउँछन्
न कुहिन्छ न ओइलाउँछ, क्या गज्जब छ भन्छन् अबुझहरू
सोचविचारै नगरी जथाभावी फाल्छन्, बगाउँछन् र जलाउँछन्
भन्छन् प्लास्टिक अब सभ्यताको, अभिन्न अङ्ग भइसक्यो
थैला, प्याकिङ र झोलाको फेसन, दैनिकी नै बनिसक्यो
जमाइसक्यो साम्राज्य नै, यसको प्रयोग र बेथितिले
वातावरणका अवयवहरूमा, अकल्पनीय जोखिम बढिसक्यो
प्लास्टिकै बुजो लागेको देखिन्छ, ढल र नालाहरूमा
प्लास्टिकै बिस्कुन छरिएको छ, बगर र खोलाहरूमा
गरिरहेका छौँ गम्भीर उपेक्षा, प्लास्टिकको दीर्घ-असरलाई
क्षणिक खुशीले रमाएका छौँ, तिनै वस्तु र झोलाहरूमा
सङ्कटमा छन् लाखौँ जलचरसमेत, सूक्ष्म प्लास्टिक-कण खाएर
मिसाइन्छ हावामा हजारौँ विषाक्त रसायन, हरदिन प्लास्टिक जलाएर
अज्ञानता हो या अभिमान वा पराकाष्ठा हो व्यापार र फेसनको
अस्वस्थ बनाउँदै छौँ प्रकृतिलाई, नित्य प्लास्टिकपान गराएर
वातावरण-मैत्री सचेतना, जनजनमा अब पुर्याउनुछ
प्लास्टिक-मुक्त नारा दिएर मात्र हुन्न, विकल्प पनि दिनुछ
आफू बाँच्न अरुलाई नि बचाउनु पर्छ, हे मेरो मान्छे-जाति
अलि बेर लाग्ला रुपान्तरित हुन दैनिकी, प्लास्टिक बिनै जिउन सिक्नुछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

