प्रिय शिरफूल !
तिमी कुनै दिन
सुन्दरतम प्राकृतिक फूल थियौ
जीवनको हरियालीमा टुसाएको कोपिला थियौ
अँधेरी रातको जुनकिरीझैँ
वसन्त लहरीमा झकमक्क थियौ
वासन्ती वागभित्रको सुगन्धित फूल थियौ
समशितोष्ण जलवायुबीच
वासन्ती लहर लहरायौ
पत्रदल बनायौ
पुष्पदल बनायौ
वरिपरिका भमरा तान्यौ
उल्लासमय यौवन जियौ

तर कुनै एक दिन
कोही अरुका गहनाको निम्ति
कोही अरुको उल्लासको निम्ति
निर्मम निमोठियौ
कोही अरुको कृत्रिम शिरफूल बन्यौ
आफ्नो खुशीको बलिदान गर्दै
अरुको खुशी बन्यौ ।

जसै सुनको शिरफूल बन्यौ
सुवास अचानक विलीन भयो
मुहारको चमक मुर्झायो
पत्रदल लत्रियो
पुष्पदल छरपष्ट भयो
शिरफूल ओइलियौ
ओइलिएको शिरफूल
एक दिन अचानक
फ्यात्त भुइँमा खस्नेछौ
क्षणभङ्गुर आयुको निरङ्कुश नियति
प्रश्नोत्तरविहीन भोग्नेछौ
प्रिय शिरफूल !

 

प्रा. डा. भूपप्रसाद धमला

मोलुङ -१, ओखलढुङ्गा