ए मनुष्य
कहिले थाक्छ तिम्रो अहङ्कार?
कहिले जाग्छ तिम्रो विवेकको संसार
महत्वाकांक्षाको घोडा चढेर
अविराम दौडिरहने तिम्रो रहर
दौलतको प्यासमा कहिल्यै नमेटिने
तिम्रो तिर्खाको लहर
ए मनुष्य
कहिले रोकिन्छ तिम्रो प्रतिस्पर्धाको विमान
कहिले गल्छ तिमीभित्रको अभिमान
अरूको खरानीमा मात्र
आफ्नो जीवन देख्ने
अरूको दुःखमा मात्र
आफ्नो सुख देख्ने
ए मनुष्य
कहिले खस्छ तिम्रो ईर्ष्याको जहर
कहिले जल्छ तिम्रो बेइमानीको कहर
सत्ताको नशामा डुबेर
आफ्नै जमिन बिर्सने
तिम्रो शक्तिको भोक
स्वार्थको पछि दौडिरहने
तिम्रो अजिवको रोग
ए मनुष्य
कहिले फुट्छ तिम्रो स्वार्थको घडा
कहिले निभ्छ तिम्रो क्रोधको ज्वाला
हजारौँ सपनाको चिहानमाथि बसेर
विजयको शङ्ख फुक्ने तिमी
मानवताको गर्धनमाथि एसिड फालेर
देशभक्तिको गीत गाउने तिमी
ए मनुष्य
कहिले छुट्छ तिम्रो बारुदको नशा ?
कहिले रुक्छ यो मानवको दुर्दशा
एक टुक्रा जमिनको निम्ति
हजारौँ जीवन रेट्न सक्ने तिमी
एक अँजुली तिर्खाको निम्ति
मानवताको संगीत मेट्न सक्ने तिमी
ए मनुष्य!
कोसँग खेल्छौ तिमी अहम्को खेल ?
कहिले रोकिन्छ तिम्रो तृष्णाको भेल ?
तिमीभन्दा लाखौँ अगाडि छन्
तिमीभन्दा लाखौँ पछाडि छन्
ए मनुष्य
कहिले हार्छ तिम्रो अहङ्कार ?
कहिले जाग्छ तिम्रो मानवताको संसार ?