पाखामा हिम शैलको हिउ चिसो पग्लेर झर्ना बनी
झर्दा एक तमासले विजनमा बज्र्यो लतारी जिमी।
धड्किन्छन् जब चर्किएर पहरा छाती फुटे झै गरी
बर्षे भेल उरालियो अघि बढ्यो पैह्रो त्रिशूली भरी। १
यात्रा माझ पसेर पाशविकता पस्किरहेको छ ऊ
आँखामा अमिला पिरा र नुनिला सन्त्रास भर्दैछ ऊ।
पैसाठ्ठी कलिला मुना तरुण वा ती वृद्ध आमा बुबा
खोसी झट्ट लुकाउँदै अघि बढ्यो बल्झेर दुख्ने कथा।।२
आँखामा सपना भरेर मसिना फुल्दै थिए कोपिला
विद्या आर्जन गर्न कर्म पथमा लम्किरहेका भुरा।
बोटोमै किन दैवले चुडिलग्यो बाँच्नेहरूको पीडा
के ले शान्त गराउला सदनले बुझ्ला र यस्ता कुरा।।३
हाँसो अस्थिर आँसु छन् स्थिर सँधै यो जिन्दगानी धुने
आँखा हुन् कि हिमाल रुन्छ यसरी वर्षा सरी बर्सिने ।
कस्तो भाग्य छ भोगिने दिन कहाँ हो अन्त्य के को भर
केही जान्न सकिन्न नाट्य नगरी संसार यो भङ्गुर ।।४
***गङ्गा भण्डारी**