आइन्स्टाइन आफ्नो निधारमा ॐ लेखी
गिर्जाघरमा गइ नमाज पढेको देख्दा
खिस्स हाँस्छ बुद्ध
कित्ता कित्तामा बाँडिएको
मान्छेको ईश्वर
आइन्स्टाइनको कपालको जुम्रा जस्तै कुदी हिँड्छ
मान्छेको टाउको टाउकोमा
टाउकोको रस चुस्न ईश्वर
सत्ता र शक्ति कति प्यारो हुन्छ
सोध्नु आफ्नै ईश्वरलाई
सत्ता र शक्ति कति क्रुर हुन्छ
सोध्नु आफ्नै ईश्वरलाई
सोध्नु किन बनाए स्वर्गसँगै नर्क पनि
एक्लै बाँच्नै नसक्ने मान्छेको ईश्वरहरू
शक्ति प्रदर्शन गरिरहेछन् चोक चोकमा
भाषण गराइरहेछन् कार्यकर्ता खटाई टोल टोलमा
बाँडिरहेछन् प्रलोभन मुक्तिको
छरिरहेछन् डर पापको
प्रत्येक बिहान मन्दिर पुग्छ भोको न्युटन
ईश्वरको गुरुत्वाकर्षणभन्दा
पेटको गुरुत्वाकर्षण ठूलो छ उसलाई
स्याउ खान मात्रै भए नि ऊ ढोग्छ ईश्वर
आफ्नो कित्ताको मान्छे सम्झन्छ उसलाई ईश्वर
अनि खिस्स हाँस्छ ईश्वर
कित्ता कित्तामा बाँडिएको मान्छेको ईश्वर ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।