ह्यामानका काला बादलहरू बीच सङ्घर्ष भइरह्यो
चोइटिएर भुईँमै झर्लाझैँ गरी गर्जिरह्यो
असारे आकाश, रातैभरि
मिल्किरहेका बिजुलीका विस्फोटहरूले
जुरुक् जुरुक् धर्ती नै उचालिरहे
एकनास घोप्टिरह्यो अकासे गाग्रो निरन्तर
संसारै छोप्लाझैँ गरी

दिनभरि ज्याला खटी लखतरान परेकी छ सानीकान्छी
कलिलो नानीलाई छातीमा च्यापेर गरिरही ईश्वरलाई गुहार

तर कठै
पानीको भेलले जितेछ उसको गुहार
उज्यालो नहुँदै बग्न लाग्यो नदी
उसकै घरको छानोबाट

दिउँसो आँखा खोल्दा
आविष्कार गर्छे आफैँलाई सानीकान्छी
कुनै आश्रय शिविरमा
त्रसित-कम्पित
केही पर नजर पुर्‍याउँछे ऊ
मानिस र जीवजन्तुका लासहरूको थुप्रो रहेछ एकाकार

बाढीमा कस्सो उद्धार भएकी
उसका अर्ध चेतन नयनले सोधिरहे
आफूले छातीमा टाँसेको बालखको अत्तोपत्तो
उसलाई भेट्न आउने दर्शकहरूलाई।

‘अप्रत्याशित हुन लागेको छ बाढी हिजोआज’
शिविरमा बुज्रुकहरूले दुखेसो पोखे
अनि
आकाशतिर हेर्दै अपेक्षा गरिरहे
सोध्दै एक अर्कालाई
‘कता हराए होलान् गिद्धहरू हिजोआज?’

 

प्राध्यापक.
असम कृषि वि वि.,
गुवाहाटी, भारत