स्नेहशील प्रेमको बगैंचामा

महकिंदो फूलको

स्वराज्य चुमेर

विसङ्गतिमाथि शब्दको बज्र ठोक्दै

तिमीलाई सम्झिरहेछु – भानु !

 

अग्नि स्पर्शका डाहहरू

धैर्यताको

परीक्षा लिइरहेका छन्

विकृत परिदृश्य मेटाएर

अल्छी पैतालालाई

परपर … पन्छाउँदै

तिमीलाई निरन्तर पछ्याउँदै छु!

 

तिम्रा बधूशिक्षा र भक्तमालाभित्र

भाषाको अमरता खोज्दै छु

रामायणका शब्दशब्दका किरणमा

उज्यालो प्रकाशपथ रोज्दै छु।

 

तिम्रो भौतिक देह

यस धर्तीबाट अस्ताए पनि

भानु र घाँसीको अटुट सम्बन्ध

नेपालीको ढुकढुकीमा

स्पन्दित भएर

शीर्षस्थानको भक्तिको पराकाष्ठा चुम्दै

तिम्रो सुनाम

नेपाली आकाशमा चम्किरहनेछ।

 

त्यही भएर

आजको अद्भुत

वैज्ञानिक युगमा पनि

प्रतिभाशाली कविको स्थान

ससम्मान सुरक्षित छ।

 

जतिसुकै रमाउन्

मानिसका भीडहरू

डिस्को र नाचगानका रङ्गमञ्चमा

तिम्रो प्रश्नोत्तर

कहाँ लोप भएको छ!

 

विश्वका कुनाकुनामा छरिएका

हरेक नेपाली मनमुटुहर

हृदय रसाउने

मिठो कविता सुन्न छटपटाइरहेछन्।

 

समयको छालसँग हेलिंदै

कैयौं कविहरू आए

तर

आदिकविलाई कसले

बिर्सन सकेको छ।

 

हरेक नेपालीहरूले

एउटै दिन पर्खिरहेका छन्

असार उनन्तिस

मनाउन लालायित छन्

भानु जयन्तीको स्मृति दिवस !!