सानो छँदा ठुली थिई ठुली हुँदा सानी
उमेर बढ्दै बढ्दै जाँदा आकार घट्ने बानी
पाखुरा छ मोटोघाटो टाउको चुच्चो चुच्चो
बढारकुढार गर्ने यही लमतन्ने कुच्चो
बुढी हुने बेला कठै फुच्ची भइछे नानी
ठुली थिई पहिले तर अहिले भई सानी
धुलो तान्छे आफैँ गई आफैँ धुलो खान्छे
कुनाकाप्चा खोज्दै खोज्दै भित्रभित्रै जान्छे
पुड्की हुँदै गई झन् झन् छेस्का तानी तानी
उमेर बढेपिच्छे हरे हुँदै गई सानी
ढोग्न पनि हुन्न अरे गोद्न पनि हुन्न
भन्दिनु न आमा किन सोध्न पनि हुन्न ?
कसले सोध्छ नत्र हजुर त्यसै जानी जानी
अस्ति थिई धेरै ठुली आज किन सानी ?
अम्रिसाको हो कि साथी सिमलीको चाहिन्छ
पाती अनि परालको कुच्चो पनि पाइन्छ
जस्तो चाहिन्छ त्यस्तै तिमी लिऊ छानी छानी
हप्ता दिन कट्नै नपाई भई अहिले सानी
“मिसिन आयो अहिले हेर यो कुच्चाको साटो
मिसिनले नै सफा पारोस् आँगनी र बाटो”
घुर्की लाउँदै धुलो मार्दै छम्किएर पानी
कुच्चो जस्तो हुन्न अरू भन्छे बहिनी सानी ।
————————–
भोर्लेटार, लमजुङ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।