अवर्षाको छटपट्याई र तड्पाईले आकुलव्याकुल भई
महिनौँको कहालीलाग्दो चिरप्रतीक्षाले गलेर
प्यासले असह्य भई शरणागत हुँदा पनि
प्रेम र करूणारुपी अमृत बर्साइ
सृष्टिका सिर्जनाहरूको रखवारे तिमी
आफैँ अदृष्य भयौ किन ?

चिन्तातुर भई कसैलाई सोधुँसोधुँ लाग्यो
पानी बोक्ने मेघलाई सोधूँ भनी
वायुमण्डलतर्फ दृष्टिगोचर गरेँ
त्यहाँ त धुवाँ र धूलकणसम्मिश्रित तुवाँलोले बर्को ओढिरहेको थियो
तर पानी बोक्ने मेघ अलप थियो
नदीलाई सोधेँ
सागर भेट्ने हतार रहेछ क्यारे, जवाफ फर्काउन चेष्टा देखाएन
सगरलाई सोधेँ, पवनलाई सोध न भन्यो
पवनलाई सोधेँ, चन्द्रधरतर्फ सङ्केत गर्‍यो
चन्द्रधरले इन्द्रदेवतिर र इन्द्रदेवले मेघतिर…
सोध्दासोध्दै हत्तोहैरान भएँ
कहीँकतैबाट मेरो सवालले जवाफ पाएन
म त रनभुल्ल परेँ

मेरो हैरानी र निराश-मनोदशा बुझेरै होला शायद
बादलले प्रेम र करूणाभाव दर्सायो
वर्षेशलाई विनति बिसाउने वाचा गर्‍यो
पुकार सुनेछन् क्यारे वर्षेशले
सन्देश पाएछ क्यारे बादलले
ढिलै भए नि उसले रुप बदल्न शुरू गर्‍यो
अनि वर्षाको रूप धारण गर्‍यो
र अविरल झर्न थाल्यो
मानौँ, पीडाबोधले उम्लिएर झरिरहेका छन्
पीडितका सहस्रधारा आँशुहरू

झर्न त झर्‍यो वर्षा
कतै पानी भएर झर्‍यो
कतै हिउँ भएर झर्‍यो
कतै अतिवृष्टि भएर झर्‍यो
कतै खण्डवृष्टि भएर झर्‍यो
कतै अनावृष्टि नै पर्‍यो
जहाँ थोरै झरे नि हुन्थ्यो, त्यहाँ अचाक्ली धेरै झर्‍यो
जहाँ अलि बढी झर्नुपर्थ्‍यो, त्यहाँ कन्जुस्याइँ गरेर झर्‍यो
कतै झरेजस्तो मात्रै गर्‍यो
कतै परेजस्तो मात्रै गर्‍यो
कतै खुशीको उन्माद फैलियो
कतै ईर्ष्याभाव बरबरायो
कति कृतज्ञ बने
कति अभिशप्त बने
कतै डुबायो, कतै भत्कायो, कतै बगायो
उसले जमिन मात्र डुबाएन
कसैको आशा र महत्त्वाकाङ्क्षा डुबायो
उसले खेतबारीका गह्रा र कान्ला अनि पहाडका भित्ताहरू मात्र भत्काएन
कसैको आडभरोसा र विश्वासको जग भत्कायो
जिउँदा निरीह जीवजन्तु, रुख बिरुवा र तिनका बासस्थान मात्र बगाएन,
मान्छे-जातिका सुन्दर भविष्य र मीठा सपनाहरु समेत बगायो
आर्तनाद र कोलाहल गुञ्जियो गाउँबस्ती र शहरबजारमा
बिचरो वर्षा,
झरेर नि जस पाएन
दिएर नि यश पाएन

बर्साद वितरण हेर्दा-
प्राकृतिक न्याय पनि कसरी मिल्यो भन्नु र खै ?
पानी त मैले बारी भिजाउन मागेको थिएँ,
खेत हिल्याएर धान रोप्न मागेको थिएँ
धान रोप्ने खेतै बगाउन त होइन नि
पानी त मैले सुकेनास लागेका वनस्पति बचाउन मागेको थिएँ
तिनका जरै उखेलेर लडाउन त होइन नि ?
पानी त मैले कुलो-नहरबाट पानी बगाउन मागेको थिएँ
कुलो-नहर र बाँधै भत्काउन त होइन नि
पानी त मैले खेतका फाँटहरुमा लहलह धानका बाला झुलाउन मागेको थिएँ
जलमग्न बनाई डुबाउन र उजाड्न त होइन नि
पानी त मैले प्राणीको जीवन बचाउन मागेको थिएँ
तिनको विस्थापित गर्न र जीवन बगाउन त होइन नि
पानी त मैले पहाडलाई भिजाउन र रूझाउन मागेको थिएँ
पहाडका ढिस्का र भित्ताहरु तँछाडमछाँड गर्दै
हाम फाल्न बाध्य पार्न त होइन नि
पानी त मैले बगरको प्यास मेटाउन मागेको थिएँ
नदी नै थुनेर बस्ती बगाउन त होइन नि
पानी त मैले जीवन र जगत्को उद्धारको लागि मागेको थिएँ
संहार र संकट निम्त्याउनको लागि त होइन नि
फेरि पानी त प्यासी र आश्रितहरु सबैको माग हो
सम्पूर्ण चराचर जगत् र सिर्जनाको अपरिहार्यता हो
तर वितरणमा असमानता किन ?
दिँदा पनि कसैको अङ्खोरा नभरिने
अनि कसैको घैला भरिएर पोखिने किन ?
कतै छिटा र थोपाकै रहर
कतै भीषण र भयावह किन ?
के प्रकृतिमा समन्याय हुँदैन र ?
के मानवजगत्मा झैँ त्यहाँ पनि विभेदको विद्यमानता छ र ?
के त्यहाँ पनि असमान वितरणको चलखेल हुन्छ र ?

ठाउँठाउँको बर्षाको प्रकृति हेर्दा लाग्छ-
मानौँ आकासमा विशाल जल-भकारी छ
जसको पिँधमा भल्भ छ
बादलहरुको आपसी सङ्घर्षले जल जन्मिन्छ
र भकारी भरिँदै जान्छ
थुप्रिँदै गएको पानीको चापले
भकारीको भल्भ खुल्छ
र मुसलधार बर्षिरहन्छ, भकारीमा पानी रहुञ्जेल
बादलहरूको युद्धान्तपश्चात्
भकारी रित्तिन्छ अनि भल्म बन्द हुन्छ
अनि वर्षान्त र सुख्खा आरम्भ हुन्छ
धराको विविधरुपी जलधारण क्षमताले,
जीवनचक्र जेनतेन चलिरहन्छ

ध्यानदृष्टिपूर्वक प्रतिक्रिया दिए वर्षेशले –
तिमी मर्त्यलोकवासीहरु
मनुष्य जातका संवेदनाहीन प्राणीहरु
तिमीहरुकै एकाधिपत्य र कुकृत्यले
तिमीहरुले उत्सर्जन र विसर्जन गरी पठाएको विषपानले
तिमीहरुको दबाब, यातना र पीडाबोधले
म क्रुद्ध र विक्षिप्त भएको छु
रोगी भएको छु
असन्तुलित भएको छु
जलवायुचक्र नियमित गर्न असमर्थ जस्तै भएको छु
कसैको दुख र पीडामा रमाउने
अल्झाउने, बल्झाउने र तर्साउने
लोभ, लालसा र अहंकार प्रदर्शन गर्ने
पहुँचवालाको प्रभावमा नतमस्तक हुने र पहुँचविहीनलाई जिल्ल्याउने
कसैप्रति अन्याय गर्ने
मनपच्छे गर्ने मेरो मनसाय हुँदै होइन
विनाकारण र आधार मेरो निष्पक्षतामा
शङ्का नगर, दुनियालाई दिग्भ्रमित नपार

वास्तवमा भनूँ भने-
जलवायुचक्र विचलनमा तिमी नै दोषी हौ
तिमी नै अवरोधक हौ
तिम्रै क्रियाकलापहरू जिम्मेवार छन्
मेरो तटस्थ र निष्पक्ष प्राकृतिक न्याय दिने
शक्ति र सामर्थ्यलाई
विवेक र न्यायिक मनलाई
तिमीले नै प्रभावित पारिरहेका छौ
क्षयीकरण गरिरहेका छौ
विकलाङ्ग बनाइरहेका छौ
रुग्ण बनाइरहेका छौ
प्रणालीलाई क्षतविक्षत् पारिरहेका छौ-
विकास र उन्नतिको नाउँमा
मानव समुदायको समृद्धि र सुबिस्ताको नाउँमा
प्रविधिको विकास, परीक्षण र प्रयोगको संवेगमा
विभाजन, विग्रह र विद्रोहको नसामा
प्राकृतिक स्रोत कब्जा र दोहनको षड्यन्त्रमा
अप्रकट लिप्साको तुष्टिको खातिर
वास्तवमा बिगारु त तिमी हौ
फेरि किन लगाउँछौ मप्रति मिथ्या आरोप ?
शरम् लाग्नुपर्ने हो तिमीलाई
तिमीले कहिल्यै सोचेका छौ-
शिरदेखि पाउसम्मका अङ्गप्रत्यङ्गहरूमा,
मेरा स्वचालित चक्रप्रणालीहरूमा
तिम्रा कृत्यहरूले पुर्‍याएको चोटहरूको पीडा र वेदनामा छटपटिएर,
मानसिकरुपमा विक्षिप्त र भौतिकरुपमा रुग्ण न्यायमूर्तिबाट
सक्रिय भई नित्य र प्रभावकारी कार्यसम्पादन सम्भव हुन्छ र ?
न्यायिक मन र विवेकको यथोचित प्रयोग हुन सक्छ र ?
अपेक्षाअनुरुप समन्याय प्रदान हुन सक्छ र ?
कदापि सक्दैन,
उत्तर सिधा छ नि, होइन र ?

तसर्थ
हे मनुष्य जगत् !
मलाई विचलित बनाउने
मलाई विक्षिप्त, सामर्थ्यहीन र रुग्ण बनाउने
तिम्रा नित्य-अनित्य कर्महरु बन्द गर
प्रकृतिको दोहन र विषवमन अन्त्य गर
तिम्रो स्वार्थको खातिर
सम्पूर्ण मानवेतर जगत्माथिको शोषण र अत्याचार बन्द गर
पृथ्वीको पारिस्थितिकीलाई ध्वस्त बनाएर
कलङ्कको कालो धब्बा नलगाऊ तिम्रो ललाटमा
तिम्रा सुकर्म र स्वस्थ आचरणले मात्र
म स्वस्थ र सबल रहन सक्छु
म स्वस्थ र सबल रहे मात्र
कर्तव्यपथमा समर्पित हुन सक्छु
जलवायुचक्र नित्य सञ्चालनार्थ समर्थ हुन सक्छु
न्यायिक मन र विवेकको समुचित प्रयोग गर्न सक्छु
न्याय सम्पादनमा अहोरात्र खट्न सक्छु

मेरो आग्रह छ-
अब त अति नै भैसक्यो
अतिले खती निम्त्याउँछ
अतिवादको बाटो परित्याग गर
अहङ्कार र अविवेकी कर्मको फल भोगिरहेका छौ आफैले
र भोग्न बाध्य पारिरहेका छौ मानवेतर जगतलाई
अतिशय बोझिलो भैसकेको छ दुष्कर्मको फल
तिमी आफै चढेको डुङ्गामा छिद्र परिसकेको जानकार छौ कि छैनौ ?
जोखिम घटाउने कि बढाउने तिमीमै निर्भर छ
साँच्चिकै सचेत छौ भने-
नानाथरी बहानाबाजीमा जलचक्रलाई खल्बल्याउने कार्य रोक
जलाधार र वनस्रोतको दिगो व्यवस्थापनमा जुट
जलस्रोतको संरक्षण र शुद्धिकरणमा जुट
बोटबिरुवा र माटोलाई माया गर
पर्यावरण जोगाउन दत्तचित्त भएर पाइला बढाउ
सचेतना फैलाउ, जगाउ र उठाउ अरुलाई पनि
प्राकृतिक विपद् बाजा बजाएर आउँदैन
यो त तिम्रा अनुचित कर्महरुको योगफल हो
मोह त्यागेर सत्कर्मको बाटो पछ्याउ
धर्तीमातालाई प्रेम र आदर गर
मेरो दृष्टिमा तिमी मान्छे-जाति मात्र सर्वोपरि होइनौ
चराचर जगत् र त्यसका रचनाहरु मेरो दृष्टिमा समान छन्
राम्रो फलको अपेक्षा गर्न उचित कर्म गर्नु पर्छ
तिम्रो सत्कर्म र सदाचारले म स्वस्थ रहन सक्छु
म स्वस्थ रहेँ भने मात्र सबैलाई निष्पक्ष
र समन्याय प्रदान गर्न सक्ने छु
जलवायुचक्र सन्तुलित र नियमित गर्न सक्ने छु
र सबैलाई खुशी दिन सक्ने छु ।
जय प्रकृति !