त्यो दिन काटिएको- मात्र जिब्रो थिएन
काटिएका थिए- गितारका तारहरू
काटिएका थिए- सितारका तारहरू
त्यो दिन कहाँ आवाजले मात्र विश्राम लिएको थियो र
स्वत: चुप भएको थियो हार्मोनियमको गला
एउटा आलाप उचाईमा पुगेर अड्किएको थियो
सारेगमपधनिसा मौन भएका थिए
बाँसुरीका प्वालहरूमा चल्दै गरेका औंला रोकिएका थिए
तबलामा नाच्दै गरेका हातहरू शान्त भएका थिए
माइक वियोगमा छट्पटाएको थियो
शब्दहरू बेसहारा भएका थिए
शल्यक्रिया कोठामा एउटा कोमल आवाजलाई
सदाका लागि लठ्याइएको थियो
मलाई ती चिकित्सक अझै याद छ
जो सागर छ गहभित्र ! भन्दै
हजार सपनाहरूको माया गर्ने जिब्रोलाई
लोरी सुनाउँदै थिए
म अनुमान गर्न सक्छु-
त्यतिबेला सायद उनले देखे होलान्
आफ्ना प्रियहरूको अनुहारमा हाँसो
जसले गाउन सकिन्जेल गाए-
प्रिय तिम्रो मुहारमा हाँसो मैले कहिल्लै देखिनँ !
सायद, जति चोट दिन्छौ देऊ भनेको भएरै होला
यो निष्ठुरी समयले उनको पुकार सुनेको
आगोको रापको पहिरोले उनको जिब्रो यस्तरी पुरिदियो
जो जीवनभरका लागि हरायो
यो पनि हुन सक्छ-
कि भजन गाउने त्यति तयार जिब्रो
भगवानलाई ईर्ष्या लाग्यो
यो पनि हुन सक्छ
स्वर्गमा कृष्णको बाँसुरीसँग आलाप लिइरहेछ- जिब्रो
यो हो भने पनि-
ती ईर्ष्यालु ईश्वरहरूले यो बुझ्नुपर्ने हो कि
हजारौं मायालुहरू माया मेरी साँझ बनी गाउँदै
पर्खिरहेछन्- उनका मीठा आवाजहरू
संगीतको सूर्य उनको जिब्रो
जुन दिन फुट्यो
बन्यो सत्यको स्वरूप लिएर धुनहरूको पृथ्वी
जहाँ हजारौँ संगीत पारखीहरू अटाएका छन्
र उनी हरेक दिन उदाइरहेछन्-
धूनहरूको सूर्य बनेर !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।