मान्छे
एकै छिनमा माथि जान्छ
एकै छिनमा तल झर्छ
एकै छिनमा भगवान् हुन्छ
एकै छिनमा राक्षस !
हामी नै हो यो गर्ने
हामी हल्लाको पछि लागेर गर्छौं
किनकि यो अर्को युग हो
हल्लाको
भूपि शेरचनले भनेझैँ
अझ भनौँ
हल्लै हल्लाको !
हामीले,
पढ्न सिक्यौँ
तर, बुझ्न सिकेनौँ
सुन्न सिक्यौं
तर, मनन गर्न सिकेनौँ
बोल्न सिक्यौँ
तर, अरूलाई
होच्याउनका लागि
खोट देखाउनका लागि
गाली गर्नका लागि
बेतुकको जवाफ फर्काउनका लागि !
बोल्न पर्ने त हो नि
सोच विचार गरेर
तर्क दिएर
सम्मान सम्मत भएर
तर विडम्बना
त्यो गर्न सक्दैनौं हामी !
हामी अरूलाई तल झार्दा
आफू माथि गएको ठान्छौ
अरूलाई होच्याउँदा
आफू अग्लिएको मान्छौँ
हो,
मनमा लागेको गर्नु पर्छ
लेख्नु पर्छ, बोल्नु पर्छ
सभ्य मान्छेको समाजमा त्यसको पनि सीमा हुन्छ
बोलीको, लाजको, स्तरको, नैतिकताको !
हामी जे गर्छौं
त्यो हाम्रो मानक हो
अब यो हामीमै छ
हामी मान्छे हुने कि
मान्छेजस्तै देखिने भेडाको भीड !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।