कोही कसैले शङ्का नगरे हुन्छ
जस्तो सोच्दछु म त्यो बोल्दिनँ
जे बोल्दछु त्यो कहिले गर्दिनँ
जे गर्दछु, त्यो मेरो आफ्नै हैन
म जे छु, त्यो म आफैँ होइन
जस्तो देखिन्छु म, त्यस्तो छैन
म चिन्छु त आफ्नालाई मात्र
मैले चिन्ने फाल्तु कोही छैन
मलाई जित्न रहर छ सधैँ
मैले कदापि हार्नुहुन्न कतै
खेलको नियम म त मान्दिनँ
हार्नेहरूका हुन् तिनीहरू सबै
कसरी हो, म साह्रै अजर छु
आफैँलाई देखेर म दङ्ग पर्छु
कस्तो राम्रो होला मान्छे म
देख्दिनँ मेरो विकल्प कोही
बाँड्न सधैँ मैले पाउनु पर्छ
भाग सबै मिलाउनु मैले पर्छ
आफ्नो अर्को मैले पो चिन्छु
अर्काले त खै के गर्छ गर्छ ?
चिन्ता छैन सखाप हुँदा सारा
सधैँ म र मेरा मात्र बाँचे पुग्छ
झुकाउँदिन शिर म कसैसँग
म खाँटी स्वाभिमानी मान्छे
हो, म स्व:अभिमानी मान्छे!
कोटेश्वर, काठमाडौँ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला