१)

केपी मुस्कान

सानो-ठूलो गरिब -धनी भन्दैन कोरोनाले
सोझो साझा लाटो बाठो गन्दैन कोरोनाले ।
साबुनपानीले हात धोवौं लगाउँ सेनिटाइजर
बालक वृद्ध बलियो बाङ्गो भन्दैन कोरोनाले।।

२)
प्यारी तिमी यसैगरी सताइ राख है
तिम्रै हुँ म तिमी नै हक जताइराख है ।
दुःखपीडा हाँसो रोदन सँगै बसी कटाउँला
आफ्नो मनमा भको कुरा बताइराख है ।।

३)
कसैको म्यासेज कुरेर बस्नुको मज्जा बेग्लै छ
सम्झँदा उनैलाई आँसु खस्नुको मज्जा बेग्लै छ ।
एकतर्फी माया भन्नु नै यही होला सायद
यस्तो माया जालमा फँस्नुको मज्जा बेग्लै छ ।।

४)
मानो रोपी मुरी अन्न फलाउन गाह्रो भयो
बाउबाजेको त्यो सम्पत्ति चलाउन गाह्रो भयो ।
रगत र पसिनाले सिँचेको त्यो सम्पत्तिमाथि
दुई-चार लाख हातमा राखी चलाउन गाह्रो भयो ।।

५)
दु:खसुख, हाँसो रोदनमा जिउन जानेको छु
मुस्कान देखाई आँसुलाई पिउन जानेको छु ।
जिन्दगीको गोरेटोमा बाधा अड्चन आए पनि
फाट्यो मन च्यातियो धड्कन सिउन जानेको छु ।।

मालारानी गाउँपालिका, ४ अर्घाखाँची
हालः सुन्धारा, काठमाडौं