तिमीलाई फेरि भेट्दा
झङ्कृत भयो मनको सितार सयौं पटक
र, सिर्जना भयो
पीडा बिर्साउने एउटा मीठो धुन
तिमी मुस्कुराउँदा
मनको अँध्यारोलाई चिर्दै
फैलियो सयौँ सूर्यको प्रकाश
र, अल्झिएपछि
थोपाथोपा विगतमा टुक्राटुक्रा सम्झना
समयको बादल च्यातेर
झुल्कियो स्मृतिको एउटा सुन्दर इन्द्रधनुष

भेट्दा कतै देखिन मैले
तिमीले बाँचेको उमेरको छाप अनुहारमा
न देखेँ जीवन संघर्षका
चालीस हिउँद र चालीस वर्षातको प्रहारले
खुसी र आकर्षण खोसेको
तिम्रो मलिन अनुहार
मेरोलागि त तिमी आज पनि
भर्खर फक्रिएकी उही ताजा फूल हौ
आइरहन्छ आँखामा सधैँ
मनमा सजाएको जसको पुरानै चित्र
र, जोसँग साँचेको थिएँ
रङ्गीन साझा सपनाहरू कुनै दिन ।