कस्तो अनौठो आयो समय, छायो सन्नाटा, फिक्का भयो संसार रंगीन…
छैन कुनै कोलाहाल, चकमन्न गाउँ – शहर, मान्छेका मुहार मलिन…
सुनिँदैन दुश्मनको त्रासदी बम-बारुद, न बोकिएका छन् संगीन…
त्यही पनि मानव ओठहरु भय र सन्त्रासले बने अवाक् शब्दविहीन…

लाग्छ यहाँ जगत् नै जड छ, जीवन्तताको नामोनिशान कहीँ कतै छैन…
मानव जहाँ मानव नभएर हुन् कि जस्तो निष्प्राण मूर्तरूपी मैन…
बिहान-साँझ, दिन-रात कुनै पनि प्रहर छैन हृदयमा शान्ति र चैन…
बिचरा बबुरा निर्दोष जनलाई बेफिक्री रमाउने इच्छा नभएको हैन…

ज्याला-मजदूरी गरी दैनिक छाक टार्नेलाई भोकको कठिन सन्ताप…
बिना कसुर ज्यान गुमाउनेलाई कसले दिए यस्तो अकाट्य सराप ?
कस्तो सुनसान विश्वयुद्ध रहेछ यो, सुनिँदैन कठोर मृत्युको पदचाप ?
संसार नै शोकाकुल छ, अमूल्य जिन्दगीको लागि गर्छन् विलाप…

कोरोनाको महामारीले ल्यायो उथलपुथल, मानव अस्तित्वमा आयो संकट…
आफन्तको चिन्ता र दुःखमा पनि साथ दिन सकिन्न, सर्छ रोग गए निकट…
विकराल छ अवस्था, थाहा छैन कहिले काटिन्छ आफ्नै परमधामको टिकट ?
कसरी हुने हो यो रोगको अचुक निदान, पार पाउँ जंघार छ ज्यादै विकट ?