पुलविनाको नदीका दुई किनार
सम्हाल्दै बगेको छु म अचेल
पुल हराएपछि
आवतजावत गर्ने बटुवा
आउँदैनन् नदी हेर्न
त्यो कन्चन पानी पिउन
बग्नैपर्ने बाध्यता छ नदीलाई पनि
प्रकृतिको परिधिमा एक्लो जिन्दगानी जिउन
दुई किनार छन्
त्यसैले बग्न रहर लाग्छ
पुल छैन
अब को मान्छे पो सहर लाग्छ
किनारको साथ हुनाले
कहिले सुसाउँदै
कहिले शान्त प्रशान्त हुँदै
आनन्दले बग्न रहर लाग्छ
बस् यी दुई किनारले साथ दिएसम्म
बगिरहने मन छ
लाग्छ नयाँ पुल नहाल्दासम्म
मलाई नराम्रोसित
ठगिरहने उसको जीवन छ
र पनि मेरो
पहिरो र बाँधले नरोकेसम्म
निर्मल बगिरहने मन छ
दोभान भेटिएपछि
वा थोरबहुत परको त्रिवेणीसित मिसिएर
अलि ठूलो आकारमा बगेपछि
न डर न भय लाग्छ होला सायद
विविधताको एकतामा सङ्लिएर
रमाइलोसित यात्रा गर्न
महासागरसम्म ।
सिगास- २, बैतडी
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला