कुनै कपडाको सम्बन्ध
भूतपूर्व मायालुको जस्तो हुन्छ
मायाले जतन गरेर
मायाको चिनो जस्तो गरी
आल्मारीको कुनै कुनामा
कपुरसँगै राखेर
थन्क्याइएको टिसर्ट र
मनको कुनामा
अमिडगालामा
कस्सिएर बसेकाहरूको माया
उस्तै उस्तै हो
शताब्दीऔँ पनि केही हुन्न
हुन्छ त मात्र फुङ्ग
रङ उडेको
खरले छाएको घरमा
घाँस उम्रेजस्तो
विस्मृतिमा
गाढा कुनै पुरानो
प्रेमको नोस्टाल्जिया जस्तो
ठ्याक्कै “तिम्रो” र “मेरो”
सम्बन्धजस्तो
मुटुको एस ए नोड जस्तो
हर धड्कनमा पुरानो
विस्मृत इतिहास
पूरै बोकेर आउने
नित्सेको उक्ति सार्थक बनाउँदै-
मानव इतिहास
मात्र सम्झनु र बिर्सनुको
इतिहास!

बर्दघाट-१०, नवलपरासी
हाल: ओस्लो, नर्वे ।