उसका हजूरबुबा

जीतपुर इलामबाट

पहाडको बसाइँ सहज छैन भन्दै

बसाइँ सरेर

चिराङ्ग भुटान पुग्नुभो रे

खै खुसी खोज्न गएको भन्नुहुन्थ्यो रे

पैसा कमाउँछु भन्नुहुन्थ्ये रे

खुसी भेट्नु भो या भएन ?

पैसा कमाउनु भयो या भएन ?

दुःख चाहिँ असाध्यै खप्नु भयो रे

अनि उसका बुबा

चिराङ्ग भुटान छोडेर

झापामा बसाइँ सर्नु भो रे

कुलोबाट खेतमा पानी लाउन

गाह्रो भयो भनि

नेपाल आएर नि

पसिनाले नै खेत सिँचाई गर्नुभयो रे

खोला त आकाशमै थियो भन्दै

अनि ऊ अमेरिका बसाइँ सर्यो रे

सपनाको देश मान्दै

उसलाई खोलाको पिर थिएन

बीउको पिर थिएन

अनि कामदारको पिरै थिएन

किनकि ऊ आफैँ कामदार भिषामा आएको थियो रे

तर ऊ

पैसा कसरी कमिन्छ ?

दिनरात सोची रहेछ रे

पैसा कार फोन फल्ने

रुखहरू खोजिरहेछ रे

उसको छोरा

अमेरिकामा मेरा बाले धेरै दु:ख पाउनु भो

म अस्ट्रेलियातिर लाग्छु

त्यहाँ पैसा कमाउन सहज छ रे भन्दै

त्यसको तयारीमा लागेको छ रे

अस्ट्रेलियामा पैसा फल्ने रूख छ र ?

मैले त देखेकै छैन हजूरहरूले नि ?

भुँडी भर्नै पर्यो बिल तिर्न पर्यो

गाडी कर्जा घर कर्जा तिर्नै पर्यो

पैसा आउने बाटो एउटा मात्रै छ

दिनरात नभनी गरेको काम

अनि खर्च हुने बाटो अनेक असीमित

 

खै बसाइँसराइँको यो क्रम चलिरहेछ

हिजोदेखि आजसम्म

खुसीकै खोजीमा

सहजताको रोजाइँमा

सहज रूपमा पैसा कमाउने दाउमा

सुखी जीवनको पर्खाइमा

 

के बसाईं सर्नु समस्याको समाधान हो ?

खुसी खोज्न गरी जानू पर्छ या सरी जानू ?

दुःख नगरी कहाँ कमाइन्छ पैसा ?

बसाईं सरेर खुसी हुने भए

काम नगरी पैसा कमिने भए

किन मान्छे एकठाउँबाट अर्को ठाउँ सर्छ ?

बसाईं सराईंका अनेक दुःख भोग्छ ?

खोजिरहेछु यी अनुत्तरीत प्रश्नहरूको जवाफ ।