
छैन र आकाशले केही सन्देश पठाएको तिमीलाई ?
तिमी यसै किन मडारिएर अगाडि आइरहेछौ
अनि टक्क अडिएछौ नबर्सिने सुर गरेर
तिमी किन भौँतारिरहेछौ यसरी गुजुल्टिएर
जसै मैले भर्खरै दाइँ गरेको पराल उठाउँदै छु
मेरो चौकाका गराहरूले उससँग
पोहोर सालकै पराल सोरेको झोक फेरेझैँ
किन तिमी पनि मसँग झोक फेर्दैछौ ?
म त ती साना आलीहरूलाई सम्झाउँदै हिँडेकै थिएँ
अर्को साल फेरि आउने छु तिमीलाई हिलाम्मे बनाउन भनेर
अझ ती गराका भित्तालाई भित्तो लाउन छिट्टै आउँछु भन्दै
बारुले र पाङ्ग्रे गोरुलाई मियो दाम्लाबाट फुकाउँदै थिएँ
ती गराहरूले यति रिस गरेछन् मलाई
मेरा चैते बालीहरू केही सप्रेनन् यसपाली
उराठ लाग्दा देखिएका थिए
यति उराठ लाग्दो कि
हनुमाने वनबाट लर्को लागेर आउने बनकरहरू नि
छक्क पर्दै थिए रे बालीको हालत देखेर
तिमी त आकाशलाई टिलिक्कै निलै बनाएर बसेकै थियौ
देख्यौ होला कता गए मेरा हिउँदका दिनहरू
तिम्रो नाङ्गो पानसँगै तिमीलाई स्पर्श नै नगरी आएका
घामका किरणले सुकेर पाटाहरू चिरिएका छन्
यसपाली मैले हिउँदमा बाख्राबस्तु फुकाएकै थिइनँ
खरका सुकेका त्यान्द्रा कोर्याककोर्याक चपाउँदै
बिताए मेरा घरपालुवाहरूले यो वर्ष
अनि उनीहरू सुन्दै कुद्दै छन्
मेरो बैराग लागेको आवाज बिहानबेलुका
अनि म तिनीहरूलाई तिम्रै गुनगान गाउँदै
तिम्रो अनुहार खुलेपछि
हरियो घाँस ख्वाउने आश्वासन दिँदै थिए
तीन वर्ष अगाडि तिम्रो यस्तै डरलाग्दो रूपमा
मैले मेरा रुम्टी खेतका चार गराहरूलाई
डिही खोलाले तामाकोसीसँग मिसाएको देखेथेँ
कतै तिमी मेरा अहिले चिरिएर रहेका गराहरूलाई
एकै सासमा निथ्रुक्क भिजाउने गरी
उर्लिन्छौ कि भन्ने डर लाग्छ
कतै फेरि मेरा रुम्टीका भ्वाङवाहरू
तीन वर्ष अगाडि बिछडिएका
दाजुभाइसँग भेट्न जान्छु भन्दै
तामाकोसीतिर लर्किने हुन् कि भन्ने डर लाग्छ
मसँगै मेरा गाउँले दाइभाइले दिनरात मिहिनेत गरेर
लगाएका पर्खाल र पुरेका भ्वाङहरू
यसपाली तिम्रै मौनतामा आत्तिएका छन् रे
उनीहरू बलवान् भएर बस्दा पनि
तिम्रै बलले जित्छ कि भन्ने भान परेको छ रे
दरो गरेर च्यापेका छन् रे एकले अर्कालाई
तै पनि अहिलेको तिम्रो यो मडारिनेपन
र गुजुल्टाइले झन् भारी बनाएको छ रे उनीहरूलाई
यतिसारो यूग बितिसक्दा
म र मजस्ता किसानले
तिम्रो बाटो हेर्नु परेकोछ
मेरा बर्खे गोरु फुकाउन
मसँग अब यिनलाई ख्वाउने ढुटो सकिन आट्यो भने
माया लागेर भए नि भित्री देऊ अब
निलो आकाशलाई केही दिन तिम्रो छायाँ पार्देऊ अनि वर्षिदेऊ
मेरा घरपालुवा मेरा खेतका गरा र त्यो आलि उफ्रने गरेर
रिसाएर नआइदेऊ
मेरा सहरका जनतालाई तमासा हेराउने गरेर
यसै नि तिनले दुई दिनमा बिर्सि जान्छन्
पिडामा तिमीलाई भोलि फेरि मैले मात्र सराप्ने छु होला
मैले मात्र फेरि ढोग्ने पनि छु होला
मेरा यी दुई हातले तिमीलाई आजै नै बिन्ती बिसाउँछु
मैले यो हिउँद् सबैलाई सम्झाएर कटाइसकेँ
फेरि बर्खालाई पनि सम्झाएर काट्ने गरी नझरिदेऊ
झरिदेऊ तिम्रो गुजुल्टाइलाई मैले कोरिदिन्छु सम्झिएर
मै बाटि दिने छु सम्झिएर
हे बादल
मैले तिमीलाई पुजेछु सधैँ यो पनि नभुलिदेऊ
सरकारले हामीलाई हेरेको छैन तिमीले हेरिदेऊ
रोएर म फेरि जानु कहाँ छ मलाई कसले नै सुन्छ र ?
तिम्रो मौनतामा सारा पिडा छन् बिस्तारै गर्ज ल ?
यसपाली हिउँदमा फलेन बाली बर्खाको आस छ
तीन साल अघिको तिम्रो गर्जनले तिर्पालको बास छ
रुने त हेर गरिब नै पर्छन् धनीलाई पुग्ने छ
एक दुई दिनको समाचार बन्छन्
सधैँ पेट भोको हुने छ ।
तिम्रो गर्जनमा मेरो रोदन हराइजाला
हात राखे तिमीले मेरो शिरैमा मिहिनेत रहिरहला
मेरो सन्देश यस्तो छ भनि तिमीले भन्दिन मिल्छ त ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

