म संकीर्ण थिएँ
संकीर्णता त्याग्ने नाममा
आडम्बरी भएँ
मेरा अधिकार कुण्ठित थिए
अधिकार माग्ने नाममा
अराजक क्रान्तिकारी भएँ
चाकरी गर्थें
अहिले खुङ्खार दलाल छु

आखिर कता जाँदै छु
उभिएर ऐना हेरेँ
अनुहारभरि मोसो छ
कसको मुखमा हिलो छ्यापौँ अब
तर्कलाई नै सत्य मानिने भए
भिडलाई नै विवेक ठानिने भए
म पुग्ने ठाउँ पक्कै कहालीलाग्दो भड्खालो होला

हुनु पर्ने त
संकीर्णता त्यागेर आधुनिकता थियो
कुण्ठा त्यागेर प्रगतिशीलता
चाकरी त्यागेर प्रतिस्पर्धा

नियत न सुधारी नियम मिचेर
पिर्काबाट सिधै डाइनिङ टेबलमा उठेको म
किनेर टोपी लगाउन हम्मे हम्मे छ
थाहै नपाई
टाउको छालाको श्रीपेच ?
तँ तँ होइन, म म भनौँ
व्यक्ति होइन, व्यवहार फेरौँ ।