एक जोधाहा कवि हुन् – पुष्कर लोहनी । सत्यको पक्षमा सधैं अटल आस्था राख्ने निर्भिक सर्जक । अन्यायका कठोर आलोचक । साहित्यको गम्भीर मीमांसक । खरो प्रस्तुति / आलोचनात्मक दृष्टिकोण र विश्व साहित्यको गहिरो अध्ययनले उनको सिर्जनात्मक फलक चौंढा भएको पाइन्छ । नेपाली साहित्यमा यौनका गम्भीर गवेषक लोहनी, जति प्रखर छन् । त्यतिकै हार्दिक र कोमल लाग्छन् । हृदयका चोखा र मनको सफा सर्जक हुन् – लोहनी ।

लोहनी बहुलविधामा कलम चलाउने ल्याकत राख्छन् । उम्दा शिल्प र शैली छ उनीसँग । जीवनका अनेकौं छालहरूमा छताछुल्ल छन् । एकान्त कुनाहरूबाट जीवन गुनगुनाउँछ । अदृश्य स्थलहरूबाट विद्रोहको पखेटा फट्फटाउँछन् । उनका हरेक सिर्जनामा यौनको महक हुन्छ । उनको दृष्टिकोण पृथक् छ । चिन्तन / सोच र सिर्जनात्मक सौन्दर्य पृथक छ । उनले हिँडेकाे साहित्यिक गोरेटो पृथक छ । हरेक यात्रामा लोहनी आफ्नै गोहो निर्माण गर्छन् । उनको सिर्जनात्मक निजत्व भन्नू नै यही हो ।
कविता / कथा र समालोचनाको त्रिवेणी हुन् लोहनी ।

वि.सं. १९९५ चैत्र २० गते काठमाडौंको ज्ञानेश्वरमा माता भेषकुमारी लोहनी र पिता होमप्रसाद लोहनीको कोखबाट जन्म भएको हो । शिक्षा : एम.ए. (नेपाली ) र लामो समय प्राध्यापन क्षेत्रमा रहेका लोहनी २० को दशकदेखि नै नेपाली साहित्यमा सक्रिय रहेका सर्जक हुन् । बौद्धिक / प्राज्ञिक व्यक्तित्व पुष्कर लोहनी आठ दशकमाथिको उकालोमा छन् । यद्यपि नित्य लेखिरहेका छन् । अध्ययनमा तल्लिन छन् । उनको घर अहिले सबैका लागि साहित्यिक कर्मस्थल जस्तो भएको छ ।

प्रस्तुत छ – २० ४० सालमा प्रकाशित पुष्कर लोहनीको चर्चित कवितासङ्ग्रह ‘कौडी’मा सङ्ग्रहीत ‘सशङ्कित भित्ता’ कविता ।

 

सशङ्कित भित्ता

– पुष्कर लोहनी

पुष्कर लोहनी

Unhappy that I am, I cannot heave
My heart into my mouth, I love your Majesty
According to my bond, no more nor less

– Cordelia

म पिल्सिरहेछु आफैं भित्र यौटा गहिरो श्वास लिएर
प्रकट गर्न नसकिएका मेरा आस्थाहरू
झर्दैछन् धमिलिँदै सधैँ देखिएका अनुहारमा ।
सर्दै सर्दै आइरहेका पाइलाहरू
झस्किन्छु मुस्कान भरिएका आँखाहरूको छोपाइबाट ।
मलाई छाडिदेउ
हो, तिमीले सम्पूर्ण मलाई थिचेकी छौ आफैं जस्तै ठानेर
तिमीले आफूभित्र हुलेकी छौ मलाई आफ्नै टुक्रा ठानेर
फुत्किन देउ मलाई तिमीबाट
फुत्किन खोज तिमी पनि मबाट
यौटा लहर आउँछ म विचलित हुन्छु आफ्नो जिन्दगीदेखि
सधैं विद्रोही बग्छु, परम्पराले झन बेसरी थिच्छ ।
नहाँस मलाई देखेर
पाइला टेक्दै हिँडेकाे म भित्र विद्रोह नगर
साहारा खोज्दै हिँड्दा थाकेका मेरो इतिहास
नकोट्याउ मेरा इतिहास फेरि मेरो अगाडि आएर ।
जमेका मेरा रगतलाई अब पनि पातलो बनाउने कोसिस
सशङ्कित भित्ताहरू !
चुरोटको सर्कामा भुलाउन खोज्छु सम्पूर्ण मेरो विश्वासलाई
म आफैंदेखि थाकेको विद्रोही
म आफैंदेखि फालिएको घृणित व्यक्ति ।
हरेक दिन तिम्रै जस्तो आँखाले मलाई लघार्छ
घृणित भएर फालिन खोज्दा पनि नपाएका क्षण
म हिँडिरहेछु- तिमीलाई हेरिरहेछु ।
सम्पूर्ण तिमीलाई हेर्दा पनि नउठेका इच्छाहरू
सम्पूर्ण सुम्पेर थिच्न नसक्दा पनि किन घृणा गर्न नसकेकी ?
मेरो मौनतामाथि शङ्का
चित्त बुझाउ एक छिन मेरो हेराइमा र एकान्तमा मलाइ गाली देउ

म पनि सिङ्गै तिमीलाई हेर्छु र गाली गर्छु आफैँलाई बेस्सरी
हामी दुबै परिचित
हामी दुबै अपरिचित
धोका अरुलाई दिउँ आफूभित्र सम्झौता गर्न नबिर्सेर ।
शङ्कामा बाँचेको आस्थाले जुर्मुराएको घटना
यौटा स्मृति दौडिरहेछ
छायालाई उछिनेर अघि बढ्न ।
म त छायामा सीमित
सीमित छायाको पनि धमिलो छाया
यौटा लज्जालु हाँसो ।

मलाई त यौटा डरलाग्दा बिश्वासहरूले भरिएको रात चाहिन्छ ।

म सँधै षड्यन्त्रमा फस्छु
र निदाउँछु भोलिपल्ट हारेका सपना थुपारेर ।
म सधैं तिमीसित तर्सन्छु
मेरो क्याक्टसको बार सधैं होचो हुन्छ
लोभिएर हेर्छन् क्याक्टसका हाँगाहरूलाई मेरै सामुन्ने आँखा जुधाएर

कस्सिएर पनि थर्किएका स्तन
प्रदर्शन भित्र हुर्किएर एक्लो हुँदै गएको अनुभव
हार खाएर समर्पणमा गाडिएकाे व्यक्तित्वको बिद्रोह
उठ्छ फेरि गिर्छ दु:खित घटना सँगालेर

म त यौटा कथा बनिसकेँ
सुन्दा र सुनाउँदा आफैं समेत बिलाएर हराएको
एकै क्षण टाँसिएको फ्रेन्च लेदर
मृत्यु अंगालेर हिँडेकाे युगसित यो भन्दा बर्ता अरु के छ र ?

पतित भएर फालिएको मानिसको लाम ।

विरूपाक्षलाई उकासौं तिमी र म भएर
यो मौनताले बिद्रोहको रूप खडा गर्छ, गरोस्
तुहाइ दिउँ इच्छाहरू सबका आँखा अगाडि
बाँच्नु पनि मूर्खता हो
बाध्यताभित्र हुर्किएका मान्यताको सकस
कति हेरूँ, कति सहुँ
पच्छाएका पाइलाका गतिले भास्सिएको स्मृति
बिद्रोह गर्न दिँदैन गुलामीले थिचेरको मेरो मान्यताले
सधैं म एक्लै टोलाएर हेर्छु
सधैं सधैं तिमीलाई आफ्नै ठानेर हेर्ने गर्छु
यौटा डर र त्रासभित्र आफूलाई हुर्काएर ।
मान्यताले थिचे पनि तिमी मबाट टाढा छैनौ
भित्ता ढल्न सक्छ हामीले कुल्चेर हिंड्न सके ।
म खुम्चिरहेछु वाध्यतामा भास्सिएर
हिँडिरहेछु प्रयास बोकेर
थच्चिंदैछन् र पछाडि पर्दैछु
म केही भन्न सक्तिन – केही गर्न सक्तिन
केवल म त सालिक भएर हेरिरहेछु ।