
नवारुन भट्टाचार्य बंगालीभाषी भारतीय कवि हुन् । उनी साहित्य अकादमी पुरस्कार जितिसकेका कवि हुन् ।
यो मृत्यु उपत्यका मेरो देश होइन

नवारुन भट्टाचार्य
जो पिता आफ्नो बच्चाको लासको पहिचान गर्न डराउँछ
मलाई घृणा छ ऊसँग
जो भाइ अहिले पनि निर्लज्ज र सामान्य छ
मलाई घृणा छ ऊसँग
जो शिक्षक, बुद्धिजीवी, कवि, क्लर्क
खुलेआम भइरहेको यो रक्तपातको
प्रतिशोध चाहँदैनन्
मलाई घृणा छ ऊसँग
आठ लाशहरू
चेतनाको तराजु जोखिरहेछन्
म बिस्तारै बिस्तारै बेहोस भइरहेछु
निद्रामा आठ जोडी खुला आँखा मलाई घुर्छन्
म चिच्याउँछु
उनीहरु मलाई बोलाउछन् समय असमय बगैंचामा
म पागल हुनेछु
म आत्महत्या गर्नेछु
मलाई जे गर्न मन छ म गर्नेछु
यही समय हो कविता लेख्नलाई
विज्ञापनमा, नाङ्गो प्रखालमा, स्टेन्सिलमा
आफ्नो रगत, आँशु र हड्डीहरुको कोलाज शैलीमा – अहिले लेख्न सकिन्छ कविता
गम्भीर यन्त्रणाले क्षतविक्षत अनुहारले
वास्तविक आतङ्कको सामना गर्न –
आँखाहरूलाई मोटरको अन्धाधुन्ध हेडलाइटसँग टिकाई राखेर
अहिले प्रहार गर्न सकिन्छ कविता
३८ क्यालिबर पेस्तोल या अरु जे जे छ हत्यारासँग
सबैलाई उपेक्षा गरेर
अहिले पढ्न सकिन्छ कविता
लक-अपको चट्टानी हिमकक्षमा
चीर-फाडको लागि बालेको पेट्रोम्याक्सको उज्यालो कपाउँदै
हत्याराहरूले चलाएको कचहरीमा
झुट अशिक्षाको विद्यालयमा
शोषण र त्रासको राजतन्त्रभित्र
सामरिक असामरिक कर्णधारहरूको छातीमा –
कविताको प्रतिवादलाई गुन्जिन देऊ
बाङ्गलादेशका कविहरू पनि, लोरका जस्तै, आफूलाई तयार राख
घाँटी निमोठेर हत्या होलान्
लाशहरू गायब पारिएलान्
मसिन-गनको गोलीहरूले तन छिद्रैछिद्र पर्ला
तयार रहनुहोस्
तब पनि कविताको शहरलाई कविताको गाउँहरुले घेर्नु निकै आवश्यक छ
यो मृत्यु उपत्यका होइन मेरो देश
यो जल्लादको थिएटर होइन मेरो देश
यो विशाल समाधी-स्थल होइन मेरो देश
यो रक्तपिपासु वधशाला होइन मेरो देश
म मेरो देशलाई फिर्ता खोस्नेछु
छातीमा लुकाउनेछु
कुहिरोले भिजेको सेता काँसका फूल र किरमिजी गोधुली साँझ
शरीरको चारैतिर जूनकीरीहरूको लाम
या पहाड-पहाड झुमेको खेती
अनगिन्ती हृदय, हरियाली, रुपकाथा, फूल-नारी-नदी
एक एक ताराको नाम लिनेछु
डुलिरहेको हावा, घाममा चम्किरहेको मिनाक्षी ताल
र प्रेम – जसलाई म जन्मिदादेखि नै निर्वासित गरिएको थियो कयौं प्रकाश वर्ष दूरीका ठाउँहरूमा:
त्यसलाई पनि बोलाउनेछु समीप, क्रान्तिको उत्सवको दिन
हजार वाटको बत्तिलाई दिनरात आँखामा धकधकाइनु
म अस्वीकार गर्छु
नङ् भित्र सुई, बरफको टुक्रामा नाङ्गै सुताइनु
म अस्वीकार गर्छु
नाकबाट खुन बगुन्जेलसम्म उल्टा झुन्ड्याइनु
म अस्वीकार गर्छु
ओठहरूमा घोच्ने जुत्ताहरूले दबाइनु, छालाको प्रत्येक इन्चमा तातोतातो फलामको रडले जलाइनु
म अस्वीकार गर्छु
कोर्रा लाइएको रगताम्य पिठ्यूँमा छ्यापिएको अल्कोहल
म अस्वीकार गर्छु
नाङ्गो देहमा इलेक्ट्रिक शक, कुसृतिः विकृत यौन अत्याचार
म अस्वीकार गर्छु
नराम्ररी पिटेर मृत हुनु, कनपट्टीको विरुद्ध रिभोलभर च्यापेर गोली चलाइनु
म अस्वीकार गर्छु
कविता शाश्वत छ
कविता सशस्त्र छ, कविता स्वाधीन छ, कविता निर्भीक छ
ध्यान दिएर हेर: मायाकोवस्की, हिकमेट, नेरुदा, आरागन, एलुआर्ड –
हामी तिमीहरूको कवितालाई हार्न दिने छैनौ, हेर –
सम्पूर्ण देश एउटा महाकाव्य लेख्ने कोशिशमा छ
छापामार छन्दमा रचिदै छन् सबै अलङ्कार
गर्जिएर उठ्नेछन् दल मादल
प्रवाल द्वीपजस्ता आदिवासी गाउँ
रगतले रातो नीलो खेत
शङ्खचूडको विषदन्तले आहत तितास (चटगाउँ, बाङ्लादेशको कोमिला जिल्लाको एउटा उपजिल्ला तितास हो ।)
विषाक्त मरणासन्न प्यासले भरिएको कुचिला (एक विषाक्त पादाप: (वानस्पतिक नाम :Strychnos nux vomica)
टङ्कारमा अन्धो सूर्य उठेको गण्डिवको ताँदो
तीक्ष्ण तिर, ह्रिंसक किला
भाला, तोमर, फर्सा र कुठार
चम्किरहेका बर्छी, चारै दिशामा दखल गर्दै तीरहरूको वर्षा
मादलको हरेक तालमा लाल आँखाहरुको ट्राइबल टोटम (Tribal Totem)
बन्दूक देऊ खुकुरी देऊ र देऊ धेरै साहस
यति धेरै साहस कि फेरि कहिल्यै डर नलागोस्
जति सुकै हुन क्रेन, दाँतवाला बुलडोजर, फौजी क्यारियरको जुलुस
डाइनामो चालित टरबाइन्, लेथ र इन्जिन
ध्वस्त कोइलाको मिथेन अन्धकारमा सक्त हिराजस्तै चम्किरहेको आँखा
अद्भुत इस्पातको हतौडा
बन्दरगाह, जुट मिलको भट्टीजस्तै आकाशमा उठेको सयौं हात
छैन, केही डर छैन
डरको फिक्का अनुहार निकै अपरिचित लाग्छ
जब जान्दछु कि मृत्यु केही पनि होइन प्रेमबाहेक
हत्या भएछ भने
म बंगालको माटोको सबै दियोमा आगो बनेर फैलिनेछु
वर्षैपिच्छे माटोमा हरियो विश्वास बनेर फर्कनेछु
मेरो विनाश हुनेछैन सुखमा रहनेछु, दुःखमा रहनेछु
जन्ममा, सत्कारमा जति दिन बंगाल रहनेछ, मनुष्य पनि रहनेछन्
जो मृत्यु रातको चिसोमा जलिरहेको बुद्बुदाहट बनेर आउँछ
त्यो दिन त्यो युद्ध त्यो मृत्यु ल्याऊ
सेवेंथ फ़्लिटलाई सात नाउवाला मधुकरले रोकिदियोस्
बिगुल र शंख बजाएर युद्ध सुरुवातको घोषणा गरौं
जब हावा रगतको उताउलो गन्धमा मातिएको हुन्छ
कविताले पृथ्वीको विस्फोटक गनपाउडरजस्तो माटो प्रज्वलित गरौं
पेन्टिङ, गाउँ, नाउँ, शहर, मन्दिर
तराईबाट सुन्दरबनको सिमाना जब
रातभरि रोइसकेपछि सुक्खा र ज्वालाग्रस्त छ
जब जन्मस्थलको माटो र मृत्युको हिलो एक भएको छ
तब दुविधा किन
सन्देह कस्तो?
त्रास किन?
आठ जना स्पर्श गरिरहेछन्
ग्रहणको अन्धकारमा कानेखुसी गरेर भन्छन्
कहिले कहाँ कस्तो पहरा
तिनीहरूको कण्ठमा छ असंख्य तारापुञ्ज-ग्यालक्सीहरू-समुद्र
एक ग्रहबाट अर्को ग्रह आउने जाने उत्तराधिकार,
कविताको ज्वलन्त मशाल
कविताको मोलोतोभ ककटेल
कविताको टौंलिन(Toulene) अग्नि-शिखा
आहुति दिऔँ अग्निको यो आकांक्षामा।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

