म मुस्कुराउँछु
आधा हाँसो तिम्रै जस्तो लाग्छ ।
फुलाउँछु गर्विलो छाती!
गर्व, तिमी हौ जस्तो लाग्छ ।
सम्झिन खोज्छु अनुहार
अमूर्त छ तिम्रो तस्बिर !
कुन्नि को हौ तिमी बेखबर छु ।
कल्पनामा हराउँछु कतिबेला
खहरे जस्तै मादकताको खोलो बग्छ ।
देख्दिनँ नजिकैका अनेकौँ बस्तीहरू
सारा दुनियाँ लत्याएर बगिदिन्छु,
मृत्यु आतिएला जस्तै बहाब लिन्छु
कल्पनातीत गन्तव्य छ मेरो!
कुन्नि कुन आकाशगङ्गा हौ तिमी ?
हूल छुटिएर बरालिएको मौरी झैँ छ मन
वेचैनीको चरम शिखरबाट खसेको छु
फुटेको छ स्नेह र ममताको ज्वार
विशाल काय काँतर बनेको छ
सारा शब्दकोष तयार बनिसक्दा
जन्मिन नसकेको सुकोमल कविताझैँ
तिमी कुन गर्भमा लुकेकी छौ ?
क्षितिजभरीको सिँदुरे रङ टिपिसकेँ
ब्रह्माण्डजस्तै शून्य आकारका चुरा छन्
लालुपाते जस्तै सारी ल्याइसकेको छु
औँसीसँग कालो मागेर गाजल बनाएँ
ताराहरू उनेर बनाएको हारले..
तिम्रो प्रतीक्षामा हार मानेपछि
मनको अग्निकुण्डमा मेरो प्रेमले हाम फालेको छ ।।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

