कोही बाँच्नलाई खाँदै छन् यहाँ
कोही खानलाई बाँच्दै छन् यहाँ
एकातिर
बाँच्नलाई खानेहरू
दिन रात नभनी
सधैं सधैं पिल्सिएर
परिश्रम गर्छन् अनि
खाँदै छन्
आफ्नै पसिनाको कमाई
जति पुग्यो त्यति बाँडेर
खान पाएकोमै सन्तोक मानेर
हातमुख जोड्न पाएकैमा खुसी भएर
किनकि
यिनीहरू आफ्नै परिश्रम गर्न बानी परेका छन्
हात, खुट्टा र शरीरको दुःख कष्ट वेवास्ता गर्दै
सब पीर, व्यथालाई सहेर
निरन्तर परिश्रम गरिरहन्छन्
जाँतोमा दाल पिसिएझै पिसिइ रहन्छन्
आवाजविहीन भएकोमा दुःख नमानी

अर्कोतिर
खानलाई बाँच्नेहरू
उनीहरूका हनुमानहरूलाई
खोक्रो आश्र्वासन दिएर
दिएका वचन तोडेर
देखाएको भरोसा मोडेर
भुँडी, भँकारी, बैंक
चाँडै भर्ने होडमा
खाइरहेछन्, दिन रात दिन रात

यिनीहरू सधैं व्यस्तछन्
आवाजविहीनहरूलाई
अनेक बहानामा
पेली रहन
ठेली रहन
तिनीहरूको
पैसा र भाग खाँदै
मजदुरी र ज्यालादारीमा
अनेक घोटाला गरेर
भुँडी, भँकारी, बैंक
चाँडै भर्ने होडमा
खाई पचाउन

खाएरै बाँच्नलाई गरे
व्हाइट बडी काण्ड
नक्कली भुटानी शरणार्थी काण्ड
सुन काण्ड, खोलानाला काण्ड
कति कति अज्ञात काण्ड !

अपसोच यी काण्डैकाण्डबाट खाएर पनि
अघाएका छैनन्
किनकि
यिनीहरू
उहिलेदेखि अहिलेसम्म
खाइरहेछन्
किर्नाले चौपाया खाएझैँ
चुसी रहेछन्
जुकाले खुन चुसेझैँ

यी त खाएर नअघाउने मस्टर हुन्
जो खाइरहेका हुनेछन्
अहिलेदेखि भविष्यसम्म
किनकि यिनीहरू खाएर बाँच्न बानी परेका छन्
अझ धेरै खानलाई अनेक खाने बाटाहरू खोजिरहेछन्
उद्देश्य नै खानकै लागि बाँच्ने बनाएर ।

हालः क्यालगेरी, क्यानाडा