रहरहरू फेरिए होलान्
सहरहरू बदलिए होलान्
के अलिकत्ति पनि भरोसा
छैन हजुरलाई ?
बिजयोत्सवको अविरले
फेरियो नि त उहाँको चेहरा !

हेर्नुस् न
नफेरिएको त
म जन्मदा लिटो पकाएको
फलामे दिउरी मात्र हो
जो आजसम्म
हामी छाक गुजार्दै छौँ

बाबु
तिमी पनि कतै फेरियौ कि ?
तिमीलाई बिदा गरेको दिन
बिहानै ढोकामा कलश राखेर
साइत ! गर्दै भनेकी थिएँ
“बेदाग रहनु”

याद छ नि ?
तिमी परदेश जाँदा
ठुले काइँलासँग लिएको रिन
लाम्काने खसी बेचेर तिरेकी थिएँ ।

आज त तिमी
घर आउँदै छाँै बाबु
बषौंदेखि पिच् हुन नसकेको एयरपोर्टमा
खाल्डै खाल्डा बाहेक केही देखिन्न
आकाशबाट ओर्लेपनि
आँखा जमिनमै टाँसेर हिँड्नु

तिम्रा बा खाडीबाट फर्कदा शान्तमुद्रामा बसेको
एयरपोर्टको बुद्धको प्रतिमाले
सोधेछ
बुर्जखलिफा जस्तै कहिले उठ्छ हँ धरहरा?
मेलाम्चिको ड्याम् फुटेजस्तै
फुटेपछि उहाको मुटु
चौबीसै घण्टा
झरी परिरहन्छ आँखामा अचेल

लोडसेडिगबाट थाकेको आँखालाई
बत्तिको प्रकाशले
केही सान्त्वना मिलेको छ

आउँदा मलाई केही कोसेली नल्याउनू
बरु घाँसी कुवा जस्तै
रसिला सपना लिएर आउनू
झिकेर मुनामदनबाट
मायाका केही हरफहरू लिएर आउनू

तिमी खेलेको मेरो चौडा छाती अहिले त
परेड् खेल्न मिल्ने भएको छ बाबु
जहाँ यौटा कुनामा
न्यालयको न्याय जोख्ने तराजु झुन्डिएको छ
अर्को कुनामा सोयम्भुका आँखा जस्ता
शान्तिका दुई फूलहरू फुलेका छन्

मेरो अन्तिम स्वास रहुन्जेलसम्म
तिम्रो कलिलो अनुहारमा दाग् लागेको देख्न नपरोस
तिम्रा ठूला उठेका परेलाहरू
कहिलै झुकेको देख्न नपरोस
जसरी झुक्छन नि,
झुपडीलाई देख्दा महलका छायाहरू
कहिल्यै नझुकोस् तिम्रो शिर ।