आदिकालदेखि बग्दै आएको
आदिबासी सभ्यताको झण्डा फहराउँदै आएको
म स्वच्छ पानी बग्ने नदी हुँ
म पवित्र जल भरिएको नदी हुँ
म अरुको तिर्खा मेट्न
आफूले तिर्खा बोकेको नदी हुँ
म प्रकृतिको दुःख मेटाउन
आफूलाई आफूले दुःख बेसाउने नदी हुँ

म पानीमा जीवन जिउने नदी हुँ
म पानीमा जगत जागृति गराउने नदी हुँ
म पानीमा प्रेमको प्रकृति लहराउने नदी हुँ
म पानीमा मानवताको
अजम्बरी मानक जन्माइरहने नदी हुँ
म जुनी जुनीसम्म पनि
नदीको अवतारमा नै जन्मिरहने
र अविरल बगिरहने नदी हुँ

मेरो बाटोमा नदी बहँदा-बहँदै
समयका चेतना स्वार्थी हुन सक्छन्
मेरो गोरेटोमा नदी रमाउँदा-रमाउँदै
आदर्शका महायात्रा यु‑टर्न लिन सक्छन्
मेरो सुकर्मको नियतिले बग्दा-बग्दै
मेरो किनारले नागबेली आकार लिन सक्छन्
तर पनि नदीहरूको हिमनदी म
नदी भएर अविरल बगिरहन चाहन्छु
नदीहरूको आदिम नदी म
नदी नै भएर सभ्यता बचाइरहन चाहन्छु
मेरो मुहानमा चट्याङ खसे पनि
मेरो शरीरमा उल्कावर्षाले रुझाए पनि
मेरो निश्चलताको नदी बगिरहन्छ
मेरो पवित्रताको हिमनदी सुसाइरहन्छ
इतिहासका विगत डबलीहरूमा
जीवनका आगत चौतारीहरूमा
मेरो अन्तष्करणको आवाज सुनेर
म नदीको करोडौं सपथ खान्छु
नदीको शाश्वतगान गाउँदै
म गोपनीयताको औपचारिक सपथ लिन्छु
म नदी नै भएर अविरल बगिरहन चाहन्छु
चुपचाप पीडाहरू शमन गर्न चाहन्छु
उत्तरतर्फबाट दछिणतर्फ नै बगिरहन चाहन्छु
प्यासी प्राणीहरुको प्यास मेटाउन चाहन्छु
धर्तीका मरुभूमिलाई सिँच्याउन चाहन्छु ।

 

लिखु तामाकोशी-२,
रामेछाप
बागमती