मेरो आज पाठेघर शान्त छ
तर घर र समाजमा हलचल छ
मेरो ओठमा मन्द मुस्कान छ
तर मनमा अर्कै खल्बल छ
सपना देख्छु र सधैं देखिरहछु
सुनसान आँगनमा बतिलो लागेको
साना साना पाइला मलाई
आमा भन्दै मैतिर भागेको
मेरो अस्तित्वमा सवाल उठ्छ्न
किनकि म आमा बन्न सकिनँ
मेरो बाँझोपन, मेरो के दोष ?
मुख फोरेर मैले भन्न सकिनँ
मेरो कोख सुनो छ,
त्यसैले म महिलाको दर्जाबाट खस्किएकी छु
“हाम्रो पुस्ता अपुरो भयो”
यस्ता शब्दले म सधैंजसो झस्किएकी छु
आशाको दियो बालेँ, अनेक व्रत गरेँ
तर सपनाहरू हराए
समाजको बोझ, प्रश्नको पहाड
र नियतिको खेलसँग डराएँ
अन्ततः सपना नफुल्दा मनको बगैंचामा
आशको फूल सधैँ फुलाउने छु
आफ्नै मायाले मन सजाउने छु
र बाँझोपनको पीडालाई भुलाउने छु ।